तपाईँ सुन्दै हुनुहुन्छः

बलेवा विमानस्थल सञ्चालन नहुँदा स्थानीयवासी निरास

पर्वत । पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको बलेवा विमानस्थल बन्द भएको ३६ वर्ष भए पनि हालसम्म सञ्चालनमा नआउँदा स्थानीवासी निरास बनेका छन् । 

विसं २०२२ मा निर्माण गरिएको उक्त विमानस्थल विसं २०४८ सम्म सञ्चालन भए पनि त्यसपछि पूर्ण रूपमा बन्द छ । विमानस्थलमा भौतिक संरचना सम्पन्न भएपछि नियमित उडानको आशामा रहेका यहाँका नागरिकले नियमित उडान र सञ्चालनका लागि कुनै निकायबाट पहल नभएको गुनासो गरेका छन् । 

पोखरा(बागलुङ सडक विस्तार भएपछि यात्रु अभावमा विमानस्थल बन्द भएको थियो । बन्द भएको २७ वर्षमा बागलुङ नगरपालिकाले सञ्चालनको प्रयास गरेको थियो । विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा यात्रु अभावले छ महिना पनि नियमित सञ्चालन हुन सकेन । नेपाल एयरलाइन्स र तारा एयरलाइन्सका जहाजले केही महिना हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे धावनमार्गमा उडान भरेका थिए ।

अहिले रु आठ करोडभन्दा बढी खर्च गरेर धावनमार्ग, पार्किङ तथा टर्मिनल भवन मर्मतसम्भार गरेर आकर्षक बनाइएको छ । चौबीस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगन गरिएको विमानस्थल हवाईजहाजको पर्खाइमा रहेको विमानस्थलका कार्यालय सहयोगी सविता शर्माले बताउनुभयो । उहाँका अनुसार नागरिक उड्डयन प्राधिकरणले रु आठ करोड खर्चेर चार वर्षअघिमात्र विमानस्थल कालोपत्रे तथा अन्य पुराना पूर्वाधार मर्मत गरेको थियो । 

विमानस्थलमा गरेको लगानी जहाज नआउँदा बालुवामा पानीजस्तै भएको राम शर्माले बताउनुभयो । उहाँले विमानस्थलमा एक कार्यालय सहयोगीले नियमित रेखदेख गर्दै आउनुभएको छ । “यहाँ १८ देखि २४ सिट क्षमताका जहाज सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

यो विमानस्थलमा हवाई सेवा नियमित भएमा बागलुङ जिल्लाका साथै पर्वत र म्याग्दीका जनतालाई समेत सुविधा पुग्ने स्थानीयको भनाइ छ । बागलुङ नगरपालिकामा निर्वाचित जनप्रतिनिधि आइसकेपछि विमानस्थल सञ्चालन गर्न सातामा दुई दिन उडान भर्ने र यात्रु अभाव हुँदाको भाडा नगरपालिकाले व्यहोर्ने सम्झौता गरेपछि केही महिना सञ्चालनमा आएको थियो । पछि विमानस्थलको धावनमार्ग पक्की बनेपछि सेवा सञ्चालन झनै ठप्प बनेको छ । 

कालोपत्रे भएर चिटिक्क बनेको विमानस्थलमा अहिलेसम्म परीक्षण उडान पनि नभएको बागलुङ–१४ नारायणस्थानका वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता चक्रबहादुर खत्रीले बताउनुभयो । उहाँले बलेवाका स्थानीय अझै जहाज आउनेमा आशावादी रहेका भन्दै पटक पटक जहाज चलाउन पहल भए पनि सार्थकता पाउन नसकेको उल्लेख गर्नुभयो ।  

हरेक सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई विमानस्थल अवलोकन गराउँदै आइएको जनाउँदै खत्रीले कसैबाट ठोस् पहल नभएको उल्लेख गर्नुभयो । “राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर कालोपत्रेको चरणमा रहेकाले कालोपत्रे भइसक्दा यात्रु सहज ढङ्गले विमानस्थलमा आउने वातावरण भएमा विमानस्थल सञ्चालन हुन सक्छ । नगरले विमानस्थललाई पाइलट प्रशिक्षण केन्द्र तथा अल्ट्रालाइटजस्ता साहसिक उडानका लागि पहल गरिरहेको छ”, उहाँले भन्नुभयो ।

निजी क्षेत्रका एयरलाइन्सले यात्रु सुनिश्चितता नभएसम्म उडान भर्न नमान्ने गरेकाले समस्या भएको तत्कालीन विमानस्थलका पूर्वप्रबन्धक सूर्यबहादुर खत्रीले बताउनुभयो । 

उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्यभागमा पर्ने विमानस्थलका कारण पर्यटन प्रवर्द्धनको सम्भावना भए पनि नियमित सञ्चालन गर्न नसकिएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले स्वीकार गर्नुभयो । उहाँले नगरको पहलले मात्रै विमानस्थल सञ्चालन गर्न सम्भव नहुने जनाउँदै सङ्घीय, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभयो ।

कालीगण्डकी करिडोर सम्पन्न भएपछि र कुश्मादेखि जोडिने यान्त्रिक पुल, बन्जी पुल र नयाँ बन्ने झोलुङ्गे पुल सम्पन्न भएपछि यात्रुको समस्या नहुने स्थानीय कमल जिसीले बताउनुभयो । त्यसका लागि अझै केही समय प्रतीक्षा गर्नुपर्ने उहाँको भनाइ छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button