तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ जिल्ला अदालत बबरमहलस्थित प्राधिकरणको भवनमा सर्ने

काठमाडौँ । जेनजी आन्दोलनपछि ध्वस्त बनेको काठमाडौँ जिल्ला अदालत अब नागरिक उड्डयन प्राधिकरणको बबरमहलस्थित भवनमा सर्ने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने स्पष्ट गर्दै वैकल्पिक स्थानको व्यवस्थाका लागि प्राधिकरणको भवन प्रयोगमा ल्याउन निर्देशन दिनुभएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलबिच आज संयुक्त बैठक बसेको थियो। बैठकमा काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएकाले न्याय सेवा निरन्तरता दिन वैकल्पिक स्थानको विषयमा छलफल भएको हो।

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नागरिक उड्डयन प्राधिकरणलाई बबरमहलस्थित भवन अदालतका लागि अस्थायी रूपमा उपलब्ध गराउन आग्रह गर्नुभएको थियो।

यससँगै अदालत र प्राधिकरणबिच सशर्त रूपमा भवन प्रयोग गर्ने समझदारी बनेको छ। अब अदालतको सेवा उक्त भवनबाट छिट्टै सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button