पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत हुने अनुमान
पोखरामा यस वर्षको तिहारमा ३ लाख फूलको माला खपत २२ स्थानमा बिक्री केन्द्र तोकिने तयारी
पोखरा । यस वर्ष तिहार पर्वको अवसरमा पोखरामा करिब ३ लाख फुलका माला खपत हुने भएको छ । पर्यटनको राजधानी पोखरामा यस वर्षको तिहार पर्वको अवसरमा कम्तीमा ३ लाख फूलको माला खपत हुने भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले दाबी गर्नुभयो ।

पोखरा क्षेत्रमा यो वर्ष तिहार पर्वको अवसरमा ३ देखि ४ करोड रुपैयाँ बराबरको फुलको कारोबार हुने उहाँले बताउनु भयो । केही दिनमा महानगरले पोखराका २२ वटा ठाउँमा फुलको बिक्री केन्द्र तोकिने तयारी भएको महाशाखा प्रमुख कडरियाले जनाउनु भयो । यस वर्षको मौसम अनुकूल भएकाले यस वर्ष किसानहरू उत्साहित भएका र फुल समयमै फक्रिएकोले बजार आपूर्ति सहज हुने उहाँले उल्लेख गर्नुभयो ।
महानगरले विगत तीन वर्षदेखि फुल उत्पादनमा बिउ, मल, प्लास्टिक र अन्य सामग्रीमा ५० प्रतिशतसम्म अनुदान प्रदान गर्दै आएकोले पोखरामा खपत हुने फुलमध्ये अधिकांश स्थानीय उत्पादन बजारमा आउने कडरियाले दाबी गर्नुभयो ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल, जिल्ला कार्य समिति कास्कीका अध्यक्ष श्रीराम सुवेदीका अनुसार पोखरामा प्रयोग हुने फुलको करिब ९० प्रतिशत स्थानीय उत्पादनबाटै पूरा हुने बाँकी १० प्रतिशत फुल धादिङ, गोर्खा, पाल्पा, बनेपा लगायत क्षेत्रबाट भित्रिने बताउनु भयो ।
हाल फानमा आवद्ध ५३ नर्सरीमध्ये ४६ वटा सक्रिय रूपमा फुल उत्पादन र कारोबारमा संलग्न छन्। गत वर्षको तुलनामा यस वर्ष फुल उत्पादन वृद्धि भएको र मूल्य निर्धारण महानगर, फान र किसानको संयुक्त समन्वयमा केही दिनभित्र गरिने तयारी भएको सुवेदीले बताउनु भयो ।

यसैबिच, पोखरा १३ वडा कार्यालयमा यस बर्ष सयपत्री फूल मेला हुने भएको वडा अध्यक्ष किरण बरालले बताउनु भयो । स्थानीय रुपमा उत्पादन भएको सयपत्री फूलको मूल्य र सहज ढंगले उपलब्ध गराउन वडामा कार्त्तिक ३ देखि ६ गतेसम्म मेला आयोजना हुने भएको उहाँले जनाउनु भयो ।
पछिल्ला वर्षमा फुल उत्पादनमा किसानको आकर्षण बढ्दै गएकोले स्वदेशी फुलले पोखराको बजार धान्न थालेको छ र यस वर्ष पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महानगरले नीति लिएको छ । पोखरा महानगरले पोखरामा प्लास्टिकजन्य फूलहरू बिक्री वितरणमा पूर्ण रुपमा बन्द गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्