मुस्ताङ भन्सारमा दुई अर्ब २४ करोड राजस्व सङ्कलन
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण रुपमा सञ्चालनमा आएको यहाँको कोरला नाकामा सोमबारसम्म उक्त राजस्व सङ्कलन भएको हो ।
यहाँ २०८० कात्तिक २७ गतेदेखि माथिल्लो लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकावासीलाई मात्रै लक्ष्य गरी खुल्ला गरिएको कोरला नाकामा भन्सार गतिविधि आंशिक रुपमा सक्रिय रहेकामा पूर्ण रुपमा नाकामा व्यापारिक कारोबारका लागि आयात/निर्यात खुल्ला गरिएसँगै मुस्ताङ भन्सार कार्यालय सक्रिय बनेको हो । विभागले कोरला नाका सञ्चालनका लागि प्राविधिक जटिलताको अन्त्य गरी जनशक्ति व्यवस्थापन गरेसँगै यहाँ व्यापारिक चहल/पहल बढेको हो ।
भन्सार सक्रिय भएको एक साता आन्तरिक व्यवस्थापन मिलाउन समय लागेकामा दसैँअघिसम्म कोरला नाकाबाट आयात/निर्यातबाट रु दुई अर्ब दुई करोड ९६ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । चीनबाट कोरला नाका हुँदै भित्रिएका मालवस्तु वाहक र विद्युतीय कारको जाँचपास चलिरहँदा दसैँ बिदा परेका कारण भन्सार कार्यालय एक साता बढी बन्द हुन पुगेको थियो । दसैँपछि मुस्ताङ भन्सार कार्यालयको सेवा सञ्चालनमा आएको हो ।
हालसम्म कार्यालयबाट चीनबाट आयात गरिएका मालवस्तु ढुवानीका ३८७ वटाको भन्सार जाँचपास भइसकेर गन्तव्यतर्फ प्रस्थान गरेको प्रमुख खड्काले बताउनुभयो । यसैगरी, चीनबाट आयात गरिएका विभिन्न कम्पनीका एक हजार १९४ विद्युतीय कारको भन्सार जाँचपास भइसकेको छ । नेपालतर्फबाट भने स्थानीय उत्पादन तथा हस्तकला सामग्री ढुवानी गरिएका पाँचवटा मालवाहक साधन भन्सारमा जाँचपास भई चीनतर्फ निर्यात भएको उहाँले उल्लेख गर्नुभयो ।
मुस्ताङ भन्सार कार्यालयमा दसैँपछि थप २२९ विद्युतीय कार र १२ मालवाहकको भन्सार जाँचपास भएको बताइएको छ । कोरला नाकाबाट हुने व्यापारिक आयात/निर्यात तथा मुस्ताङ भन्सार कार्यालयले प्रवाह गर्ने सेवा सुविधामा बाह्रै महिना सञ्चालन गर्न कठिन देखिन्छ ।
समुन्द्री सतहको चार हजार ६१० मिटर अग्लो उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट हिउँदयामको मङ्सिरदेखि फागुन मसान्तसम्म चिसोका कारण आयात/निर्यातलगायत भन्सार कार्यालयको सेवा सञ्चालनमा उत्तिकै चुनौती हुने देखिन्छ । नाकामा मालवस्तु ढुवानीका साधन र चीनबाट आयात हुने विद्युतीय कार चिसोले चल्न नसक्ने र ढुवानी साधनका चालक तथा सहचालक र भन्सारका कर्मचारीहरू मौसम प्रतिकूलताका कारण बस्न सक्ने अवस्था रहने भएकाले यहाँको नाकाबाट बाह्रै महिना काम गर्न समस्या देखिने गर्छ ।
नाकामा अत्यधिक चिसो र हिउँ पर्ने, पानीको स्रोत जम्ने तथा सीमावर्ती क्षेत्रका स्थानीय नागरिक चिसो छल्न बेँसी झर्ने परम्पराले गर्दा नाका सञ्चालनमा अप्ठ्यारो पर्ने देखिन्छ । नेपालतर्फको वातावरणमैत्री पूर्वाधार नहुँदा र न्हेचुङमा रहेको भन्सार कार्यालयमा पर्याप्त भौतिक पूर्वाधार नहुँदा हिउँदयाममा कोरला नाका पूर्ण रुपमा सञ्चालन गर्नमा चुनौती हुने गरेको प्रमुख खड्काले बताउनुभयो । रासस
प्रतिक्रिया राख्नुहोस्