खड्कालाई काँग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा सभापति देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको जानकारी गराउनुभयो ।
बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति देउवाले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
सभापति देउवाले जेनजी विद्रोहको दोस्रो दिन अर्थात् भदौ २४ गते नेपालको इतिहासकै एउटा डरलाग्दो दिनको रूपमा लिपिबद्ध हुने उल्लेख गर्नुहुँदै त्यस दिनको घटनाले सबैलाई मर्माहत बनाएको बताउनुभयो ।

बैठकमा सभापति देउवाले मुलुकमा संकट आउँदा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको विगतको अनुभव रहेको उल्लेख गर्नुहुँदै अहिले पनि सबै पार्टीहरूबिच सहमति खोजी मुलुकको निकासका लागि पहल गर्नुपर्ने बताउनुभयो ।
जननिर्वाचित संविधानसभाले निर्माण गरेको नेपालको संविधान जोखिममा परेको, जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचनको मिति तोकिए पनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको अवस्थामा मुलुकलाई निकास दिन दलहरूबीचको आपसी छलफल र सहकार्यका लागि सभापति देउवाले जोड दिनुभयो ।
सभापति देउवाले निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाएर शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सबैले स्वतः स्फूर्त रुपमा निर्वाचनमा भाग लिने अवस्था निर्माण गर्ने दायित्व सरकारको भएकोले त्यसतर्फ सरकारले ध्यान जानुपर्ने पनि बताउनुभयो ।
जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीको आक्रमणमा पर्नुभएका देउवा आज मात्र सार्वजनिक भएर बैठकलाई सम्बोधन गर्नुभएको हो ।
सभापति शेरबहादुर देउवाले बैठकलाई सम्बोधन गरेपछि नेपाली काँग्रेस केन्द्रीय समिति बैठक पर्सी असोज ३० गते बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया राख्नुहोस्