तपाईँ सुन्दै हुनुहुन्छः

तीव्र गतिमा निर्माण हुँदै सोलुदुधकूण्डको प्रशासनिक भवन

सोलुखुम्बु । सोलुखुम्बुकाे एक मात्र नगरपालिका सोलुदूधकुण्ड नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम तीव्र गतिमा अघि बढेको छ ।

 निर्माणाधीन सोलुदूधकुण्ड नगरपालिकाको प्रशासनिक भवन

२०८१ साल पुसबाट निर्माणको काम थालेकोमा करिब १० महिनामा ४४ प्रतिशत सम्पन्न भएको हो । 

गएको कात्तिकमा निर्माण कम्पनी पीआरएचवी जेभीले भ्याट सहित सात करोड १४ लाख १९ हजार ३ सय रुपियाँमा भवन निर्माणको ठेक्का सम्झौता गरी पुसमा निर्माण कार्य थालेको थियो । जिल्ला समन्वय समितिको को एक करोड ५० लाख रुपियाँ र बाँकी लागत नगरपालिकाले गर्ने गरी भवन निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । 

साविक जिल्ला विकास समितिको सभाहल भत्काएर त्यस सहितको जग्गामा निर्माण सुरु गरिएको प्रशासनिक भवन जिल्लाकै नमुना र सुविधा सम्पन्न बनाउने गरी काम सुरु गरिएको नगरप्रमुख नाम्गेलजाङबु शेर्पाले बताउनुभयो । 

हाल नगरपालिकाको सेवा प्रवाह पुरानो गाविस भवनबाट भइरहेकोमा भवन निर्माण सम्पन्न गरेर व्यवस्थित र सुविधायुक्त भवनबाट नागरिकलाई सेवा दिन नगरपालिका लागिपरेको उहाँको भनाइ छ ।

प्रशासनिक भवन निर्माण कार्यको काम हालसम्म दुई वटा तला ढलान भइसकेको छ । अब फिनिसिङ गर्ने, छाना लगाउने, विद्युतीकरण जस्ता कामहरू बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ । भवन निर्माणको काम यही वर्षको चैत्रभित्रमा सक्नुपर्ने निर्माण कम्पनीको दायित्व छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button