तपाईँ सुन्दै हुनुहुन्छः

ढकमक्क फूल, उत्सवको प्रतीक्षा र देउसीको तयारी

बाजुरा। तिहार नजिकिँदै जाँदा बाजुराका गाउँघर स्थित आँगन र बारीहरू रङ्गिन फूलले ढकमक्क भएका छन्।

बिहानको ओसले भिजेका ती फुलहरूले गाउँको परिवेशलाई झन् मनमोहक बनाएका छन्। विशेषगरी तिहारको बेला फूलको महत्व अत्यधिक हुने भएकाले अहिले गाउँका बारीहरू यसै फूलले ढाकिएका छन्।

मखमली फूल नेपाली संस्कृतिमा भाइटिकाको प्रतीक मानिन्छ। तिहारको पाँचौँ दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको टीका लगाउने बेला मखमली फूलको माला प्रयोग गर्ने प्रचलन छ।

स्थानीय कृषकहरूका अनुसार फूलको माग हरेक वर्ष तिहारअघि बढ्ने गरेको छ।

फूलले मात्र होइन, तिहार नजिकिँदै गर्दा गाउँमा रङ्गिन दीप, बत्ती, रङ्गाेली, र फूल मालाले घरघर सजिन थालेका छन्। गाउँका बालबालिकाले देउसी भैलोको तालिम लिन थालेका छन् भने महिलाहरूले पूजा सामग्री तयार पार्न व्यस्तता बढाएका छन्।

तिहार हिन्दुहरूको दोस्रो ठूलो पर्व हो, जसलाई दीपावली पनि भनिन्छ। दीपावलीको यस पर्वमा दीप प्रज्वलन, देवी लक्ष्मीको पूजा, र भाइटिकासँगै मखमली फुलको सुगन्धले गाउँभरि उत्सवमय माहोल सिर्जना गर्छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button