अज्ञात समूहले सडक छेउका रुख काटेर बिजुलीका पोल ढालेपछि सुर्खेत तीन दिनदेखि अन्धकारमा

सुर्खेत । अज्ञात समूहले सडक छेउका रुख काटेर बिजुलीका पोल ढालेपछि तीन दिनदेखि पश्चिम सुर्खेत अन्धकारमय बनेको छ ।
नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्र बाबियाचौर नोलाईट सेवा अन्तर्गतको गुटु फिडरको ११ केभीए बिजुलीको ६ वटा पोलमा ५५ वटा रुख अज्ञात समूहले ढालेपछि विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध हुन पुगेको हो ।
खम्बागाडे–बाबियाचौर–विद्यापुर सडक निर्माण अन्तर्गत माझिगाउँदेखि एक किलोमिटर पूर्वी क्षेत्रका रुख आफूखुसी बिजुलीको पोलमा ढालिएपछि अहिले पश्चिम सुर्खेत अन्धकारमय बनेको छ ।

नेपाल विद्युत् प्राधिकरण सुर्खेत वितरण केन्द्र प्रमुख अशोक लोहनीले अज्ञात समूहले सडक किनारका रुख ढालेपछि विद्युत् प्रसारणमा अवरुद्ध भए पनि आज चौकुने गाउँपालिकासँगै स्थानीय नागरिकको सहयोगमा मर्मत सुधारको काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।
उहाँले विद्युत्का पोलमाथि सडक छेउका रुख ढालेर विद्युत् आपूर्ति अवरुद्ध गर्ने समूहलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बाबिचौरमा निवेदन दिइसकेको बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय बाबियाचौरका प्रमुख (प्रहरी निरीक्षक) रबिन्द्र कार्कीले घटनास्थलको मुचुल्का उठाएर नियमित विद्युत् आपूर्ति सेवा अवरुद्ध गर्ने अज्ञात समूहमाथि आवश्यक अनुसन्धान शुरु भइसकेको जानकारी दिनुभयो ।
उहाँका अनुसार वन कार्यालयको क्षेत्राधिकार भित्र पर्ने भएकाले प्रहरीसँगै डिभिजन वन कार्यालय भेरी बाबियाचौरसँग सहकार्य तथा समन्वय गर्दै घटनाको अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।
डिभिजन वन कार्यालय बाबियाचौरका (सूचना अधिकारी) सहायक वन अधिकृत शेरबहादुर रोकायले खम्बागाडे–बाबियाचौर–विद्यापुर सडक निर्माण अन्तर्गत सडक छेउका रुख हटाउने कार्यका लागि प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) कार्य अन्तिम चरणमा रहेपनि माझिगाउँदेखि एक किलोमिटर परसम्म शुक्रबार राती अज्ञात समूहले ५५ वटा रुख ढालेर बिजुली प्रसारणमा समेत अवरोध पुर्याएको जानकारी दिनुभयो ।

उहाँले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) का लागि वन कार्यालयबाट आवश्यक सहयोग र सहजीकरण गरेपनि सडक डिभिजन कार्यालयबाट थप प्रक्रिया अघि नबढाउँदा रुख कटान ढिलाइ भएको बताउनुभयो । तर, स्थानीय बासिन्दा भने सडक निर्माण ठेकेदार कम्पनीले विद्यापुरदेखि माझीगाउँसम्म कालोपत्र गरिसक्दा समेत त्यसअघिका रुख कटानमा वन कार्यालयले ढिलाइ गरेपछि अज्ञात समूह रुख ढालेको बताउँछन् ।
एकै पटक ठुलो सङ्ख्यामा अज्ञात समूहले सडक छेउका रुख बिजुलीका पोलमा ढालेपछि तीन दिनदेखि अवरुद्ध विद्युतको मर्मत कार्य छिटो गर्नका लागि आफूहरूले विद्युत् प्राधिकरणलाई भरपुर सहयोग गरिरहेको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो । उहाँले विद्युत् लाइन अवरुद्ध हुँदा सुर्खेत पश्चिम क्षेत्रको सञ्चारमा समेत समस्या आएको जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्