मेची राजमार्ग राजदुवाली खण्ड अझै बन्द, सिमलगोलाबाट वैकल्पिक मार्ग खोल्ने तयारी
इलाम । इलाम–मेची राजमार्गको राजदुवाली खण्डमा आठ दिनदेखि निरन्तर मर्मत कार्य भइरहे पनि सडक सञ्चालनमा ल्याउन नसकिँदा स्थानीयवासी र यात्रुहरू निकै समस्या झेलिरहेका छन्। गत असोज २० गतेको अविरल वर्षासँगै आएको पहिरोले सो खण्डमा ठूलो क्षति पुर्याएको हो।

यही अवस्थालाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा प्रमुख सुरक्षा अधिकारीहरू र सडक डिभिजन कार्यालयका प्रमुख पवन भट्टराईसहितको टोलीले सिमलगोलास्थित वैकल्पिक मार्गको सम्भाव्यता अध्ययनका लागि स्थल अवलोकन गरेको छ।

टोलीले सडक अवरुद्ध स्थानमा पुगेर पहिरोको अवस्था, सडक संरचनामा पुगेको क्षति तथा मर्मत कार्यमा देखिएका कठिनाइहरूको प्रत्यक्ष अध्ययन गरेको छ। अविरल वर्षा जारी रहेकाले राजदुवाली खण्डमा तत्काल सडक सञ्चालन गर्न कठिन रहेको र त्यसकै विकल्पका रूपमा सिमलगोलाबाट वैकल्पिक मार्ग खोल्ने तयारी भइरहेकोले बताउनुभयो।

सडक डिभिजन कार्यालयका प्रमुख भट्टराईका अनुसार यता राजदुवाली खण्डमा पहिरो पन्छाउने र मर्मत कार्य तीव्र गतिमा अघि बढाइने योजना बनाइएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालयले यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन र अत्यावश्यकबाहेक यात्रामा ननिस्कन आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्