तपाईँ सुन्दै हुनुहुन्छः

आठ महिलाद्वारा ‘यलुङ रि’ हिमाल आरोहण

दोलखा । दोलखाको रोल्वालिङ हिमशृङ्खलामा पर्ने ५६३० मिटर अग्लो ‘यलुङ रि’ हिमालको एकै पटक आठ महिलाहरूले सफल आरोहण गरेका छन् । यो टोलीमा विभिन्न छ वटा देशका आठ जना महिलाको सहभागिता रहेको थियो ।

हिमाल आरोहणमा महिला सहभागितालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित अघि बढेको यो टिमले गत बुधवार बिहान ८ बजेर २ मिनट जाँदा ‘यलुङ रि’ हिमालको एकै पटक आरोहण गरेको उनीहरुलाई नेतृत्व गर्ने अन्तर्राष्ट्रिय हिमाल आरोहणका पथ प्रदर्शक पासाङ किदर शेर्पाले बताए । आरोहण दलका सदस्यहरुले बुधवार बिहान १ बजेबाट आरोहण सुरु गरेकोमा सात घण्टामा यलुङ रि हिमालको चुचुरामा पुग्न सफल भएका थिए । 

‘यलुङ रि’ हिमालको सफल आरोहण गर्नेहरूमा मारीयम सारीपोभा र फौरोक सार्कमामोडोबा (ताजिकास्तान), छेतेन डोल्मा (ले लदाख भारत), आमिना हानिफ र सिदिकम हानिफ (पाकिस्तान), सुजना तामाङ (काभ्रेपलाञ्चोक नेपाल), डानिका गिल्बट (अमेरिका) र निकी हैदरी (अफगानिस्तान, हाल जर्मनीमा शरणार्थी) रहेका छन् । उनीहरू अन्तर्राष्ट्रिय हिमाल आरोहणका पथ प्रदर्शक पासाङ किदर शेर्पाको खाङग्री ट्रेक प्रालिबाट आरोहणका लागि गएका हुन् । 

उनीहरुलाई नेपालको तर्फबाट अन्तर्राष्ट्रिय हिमाल आरोहणका पथ प्रदर्शक पासाङ किदर शेर्पाले नेतृत्व गरेका थिए भने अमेरिकाको डानिका गिल्बटले नेतृत्व गरेकी थिइन । 

आफु र पासाङ किदर शेर्पाको नेतृत्वमा एकै पटक आठ जना महिलाले ‘यलुङ रि’ हिमाल आरोहण गर्न सफलता प्राप्त गर्दा निक्कै खुशी लागेको आरोहणमा संलग्न अमेरिकी नागरिक डानिका गिल्बटले बताईन । 

महिला आरोहण टिमले रोल्वालिङ हिमशृङ्खलामा नै पर्ने ५९३० मिटरको ‘रामदुङ’ हिमाल आरोहण गर्ने तालिका बनाएको भएपनि अत्यधिक हिमपातको कारण सम्भावना नभएपछि ५६३० मिटर अग्लो ‘यलुङ रि’ हिमाल आरोहण गरेको पासाङ किदर शेर्पाले बताए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button