तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानाध्यापक र सहयोगी घुस लिँदै रंगेहात पक्राउ

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा रहेको जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ पर्नुभएको छ । उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रवार राति आफ्नै निवासबाट नियन्त्रणमा लिएको हो ।

प्रधानाध्यापक साहले विद्यालयमा शनिवार निर्धारित माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा उत्तीर्ण गरिदिने आश्वासन दिँदै एक शिक्षकसँग साढे चार लाख रुपैयाँ घुस मागेको आरोप छ । 

अख्तियार स्रोतका अनुसार, वीरगन्जका एक शिक्षकले आवेदन फारम भरेपछि साहका सहयोगी अरविन्द्र प्रकाश साहमार्फत रकम मागिएको जानकारी आयोगलाई प्राप्त भएको थियो । त्यसकै आधारमा अख्तियारको टोलीले वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयमा अरविन्द्रलाई रंगेहात पक्राउ गरेको बताइएको छ । 

सोही क्रममा टोलीले धरहरी पुगेर प्रधानाध्यापक साहलाई समेत नियन्त्रणमा लिएको हो । पक्राउ पर्नुभएका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रवार राति नै काठमाडौँ लगिएको आयोग स्रोतले जनाएको छ । 

यस विषयमा प्रतिक्रिया दिँदै रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले भन्नुभयो, “शिक्षक नियुक्तिसँग सम्बन्धित घुस प्रकरण भएको भन्ने सूचना पाइएको छ । अहिले अख्तियारको टोलीले अनुसन्धानका लागि काठमाडौँ लगिएको छ । उहाँले विस्तृत विवरण अनुसन्धानपछि मात्र स्पष्ट हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button