तपाईँ सुन्दै हुनुहुन्छः

जेलबाट फरार दुई कैदी आफ्नै घरबाट पक्राउ

सुनसरी। सुनसरीमा जेनजी  आन्दोलनको क्रममा जेलबाट फरार भएका दुई जना कैदी एकैदिन पुनः पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार, इटहरी उपमहानगरपालिका–१६, जब्दिटोल निवासी २८ वर्षीय धिरज चौधरी र रामधुनी नगरपालिका–५ निवासी ३३ वर्षीय सुगराज कार्की पुनः पक्राउ परेका हुन्। कार्की चोरी मुद्दामा कैद सजाय भोगिरहेका थिए भने चौधरी जबरजस्ती करणी मुद्दामा १२ वर्षको कैद सजाय काटिरहेका थिए।

दुवै जना कैदी भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा झुम्का कारागारबाट फरार भएका थिए। गोप्य सूचनाको आधारमा असोज २४ गते बिहान साढे १२ बजे इलाका प्रहरी कार्यालय पकलिको टोलीले चौधरीलाई उनी बसेको आफ्नै घरबाट नियन्त्रणमा लिएर कारागार सुरक्षा गार्ड झुम्कामा बुझाएको जनाएको छ।

त्यसै गरी, रामधुनी नगरपालिका–५ निवासी कार्कीलाई पनि सोही दिन दिउँसो ३ बजे प्रहरी टोलीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरी सोही कारागारमा बुझाएको हो।

प्रहरीका अनुसार, दुवै फरार कैदीलाई पक्राउ गरी कानुनी प्रक्रिया अनुसार सम्बन्धित कारागारमा पुनः पठाइएको छ। साथै, यस्ता फरार अभियुक्तहरूको खोजी अझ सशक्त रूपमा अघि बढाइएको बताइएको छ। प्रहरीले नागरिकहरूलाई कुनै पनि फरार अभियुक्त वा शङ्कास्पद गतिविधि देखिएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राति सुनसरीको झुम्का कारागारबाट भागेकामध्ये हालसम्म १ हजार ९४ जना कैदीबन्दी पुनः कारागार फर्किएका छन्।

कारागार प्रशासनका प्रमुख सुवास लामिछानेका अनुसार, हाल ७ सय २ जना कैदीबन्दी अझै फरार रहेका छन्। तीमध्ये ५० जना भारतीय नागरिकसमेत छन्। कुल ६१ जना भारतीय कैदीमध्ये ११ जना मात्र कारागार फर्किएका हुन्।

झुम्का कारागारमा कुल १ हजार ७ सय ९६ जना कैदीबन्दी रहेका थिए। जेनजी आन्दोलनको दोस्रो दिन बेलुका राति सबै कैदीबन्दी कारागारबाट बाहिरिएका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button