तपाईँ सुन्दै हुनुहुन्छः

‘जेनजी’ प्रदर्शनका शहीद महर्जन परिवारलाई महानगरपालिकाद्वारा पाँच लाख सहयोग

पाटन,ललितपुर ।  यही भदौ २३ गते ‘जेनजी’ प्रदर्शनका क्रममा सहादत प्राप्त शहीद विनोद महर्जनको परिवारलाई ललितपुर महानगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ ।

आज यहाँ आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले शहीद महर्जनकी आमा लता महर्जनलाई रु पाँच लाख खातामा जम्मा गरिएको भौचरसहित समवेदना पत्र प्रदान गर्नुभयो । 

यही असोज १० गते बसेको महानगर कार्यपालिका बैठकले गरेको निर्णयअनुसार उक्त सहयोग रकम हस्तान्तरण गरिएको महानगरप्रमुख महर्जनले जानकारी गराउनुभयो । “सुशासन कायम र भ्रष्टाचारको अन्त्यका लागि भएको आन्दोलनमा योगदान दिएकामा राष्ट्रले नै शहीद घोषणा गरिसकेकाले महानगरले संवेदनासँगै यो सानो सहयोग उपलब्ध गराएको हो । शव अन्त्येष्टिमा समेत महानगरले सहयोग गरेको छ”, उहाँले भन्नुभयो ।

महानगरका प्रवक्ता एवम् वडा नं ९ का अध्यक्ष राजु महर्जनले शहीद महर्जनको योगदानको सम्मान र परिवारलाई सहानुभूतिस्वरुप सहयोग गरिएको बताउनुभयो ।

शहीद महर्जनका दिदी विना महर्जनले आफ्नो भाइले देशको परिवर्तनका लागि योगदान दिएकाले ललितपुर महानगरभित्र सालिक निर्माण गरिदिन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button