पहाडी जिल्लामा टिमुर टिप्ने चहलपहल बढ्दै, बजारमा मूल्य उच्च
बाजुरा। असोज महिना लागे सँगै बाजुरा लगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाहरूमा टिमुर पाक्ने सिजन सुरु भएको छ। गाउँ–गाउँमा अहिले टिमुर टिप्ने, सुकाउने र बजार पठाउने चहलपहल निकै बढेको छ।

बाजुरा, अछाम, बझाङ, डोटी, हुम्ला, जुम्ला र कालिकोटका लगायत जिल्लाका स्थानीय बिहानै जङ्गल र डाँडाकाँडातिर टिमुर टिप्न जाने गरेका छन्। पाकेको टिमुर टिपेर घर ल्याउने र सुकाए पछि बजारमा बिक्रीका लागि पठाइन्छ।
टिमुर स्थानीयको आयआर्जनको महत्त्वपूर्ण स्रोत बन्दै गएको छ। हाल बजारमा सुक्खा टिमुर प्रतिकिलो १ हजार देखि देखि १५ सय रुपैयाँमा बिक्री भइरहेको छ। केही व्यापारीले ठुलो परिमाणमा सङ्कलन गरी तराई र काठमाडौँसम्म पठाउने गरेका छन्।

बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ५ की अस्मिता मिजारले बिहानै टिमुर टिप्न जङ्गल जाल सुकाएर केही बजारमा बिक्रीका लागी पठाउने र केही घरका लागि राख्ने गरिएको बताउनुभयो ।
भान्सामा मसला र औषधीय उपयोगका कारण टिमुरको माग बर्सेनि बढ्दो छ। पेट दुखाइ, टन्सिल, रुघाखोकी ज्वरो र पाचनसम्बन्धी समस्या समाधानमा यसको उपयोग हुने भएकाले यसको माग र मूल्य उच्च हुँदै गएको हो।
टिमुर जैविक रूपमा महत्त्वपूर्ण जडीबुटी हो। यसले ग्रामीण क्षेत्रको सानो स्तरको अर्थतन्त्रलाई टेवा पुर्याउँदै आएको छ। तर अन्धाधुन्ध सङ्कलन र संरक्षणमा बेवास्ता बढ्दै गए टिमुरको उत्पादनमा असर पर्न सक्ने सरोकारवालाको भनाइ छ।







प्रतिक्रिया राख्नुहोस्