सञ्चार मन्त्री र संयुक्त राष्ट्रसङ्घका उच्च प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संयुक्त राष्ट्रसङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा संयुक्त राष्ट्रसङ्घकी नेपालका आवासीय संयोजक हाना सिङ्गर, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुका, र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधि जाको डु ट्युइट सहभागी हुनुहुन्थ्यो ।
मन्त्री खरेलले प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल सरकारप्रति संयुक्त राष्ट्रसङ्घले पु¥याउँदै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले बनेको सरकार सबै पक्ष, क्षेत्र र वर्गको अनुमोदन प्राप्त सरकार हो ।

आगामी फागुन २१ गते तोकिएको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक गृहकार्य सुरु भइसकेको छ । घोषित निर्वाचन सफल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घलगायत विकास साझेदारहरूको सकारात्मक सहयोगको अपेक्षा सरकारले गरेको छ ।”
मन्त्री खरेलले विपद् व्यवस्थापनमा संयुक्त राष्ट्रसङ्घका निकायले पुर्याएको सहयोगको उच्च प्रशंसा गर्नुभयो । साथै, डिजिटल रूपान्तरण, मिडिया साक्षरता प्रवर्द्धन र सुशासन सुधारका क्षेत्रमा नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमबीच सहकार्य गर्ने विषयमा विस्तृत छलफल भएको छ ।
त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घकी आवासीय संयोजक हाना सिङ्गरले हालै नेपाल सरकारले विपद् व्यवस्थापनमा देखाएको तत्परता र नेतृत्वको प्रशंसा गर्दै भन्नुभयो, “नेपाल सरकारले सङ्कटको समयमा देखाएको संयम र समन्वय प्रशंसनीय छ । हामी तोकिएकै समयमा हुने निर्वाचनलाई निष्पक्ष र सफल बनाउन आफ्ना तर्फबाट सकारात्मक सहयोग पु¥याउन प्रतिबद्ध छौँ ।” युएनडिपीकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले पनि नेपाल सरकारसँगको सहकार्यलाई अझ सुदृढ बनाउने इच्छा व्यक्त गर्दै भन्नुभयो, “डिजिटल रूपान्तरण र मिडिया साक्षरताको क्षेत्रमा नेपालसँगको साझेदारीलाई अझ सशक्त बनाउन हामी इच्छुक छौँ ।” यूनेस्कोका प्रतिनिधि जाको डु ट्युइटले सञ्चार र शिक्षा क्षेत्रलाई सुदृढ बनाउन नेपालसँगको सहकार्य निरन्तर जारी रहने बताउनुभयो । भेटवार्ता आपसी समझदारी, साझेदारी र सहयोगको वातावरणमा सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।—







प्रतिक्रिया राख्नुहोस्