काँग्रेसको पदाधिकारी बैठक सानेपामा बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा नै बस्ने र बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले राससलाई जानकारी दिनुभयो । साथै बैठकमा यही असोज २६ गते बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचीलगायत विषयसमेतमा छलफल हुने उहाँले बताउनुभयो ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बस्न लागेको हो । प्रदर्शनका क्रममा भदौ २४ गते काँग्रेस पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका धर्मपत्नी एवं तत्कालीन परराष्ट्र मन्त्री डा आरजु राणा देउवामाथि उहाँकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।
स्वास्थ्य लाभपछि आराम गरिरहनुभएका सभापति देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता डा प्रकाश शरण महतले जानकारी दिनुभयो ।
प्रदर्शनका क्रममा काँग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमा समेत आगजनी र तोडफोड भएको थियो । उक्त प्रदर्शन पछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।रासस
प्रतिक्रिया राख्नुहोस्