इलाममा जनजीवन क्रमशः सामान्य, मेची राजमार्ग आंशिक रूपमा सञ्चालनमा
इलाम।असोज १८ गते राति आएको विनाशकारी बाढी–पहिरोपछि इलाममा जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ। मेची राजमार्ग अझै पूर्ण रूपमा खुलेको छैन, तर झापाको सिमाना जोरकलशदेखि राजदुवालीसम्म र पाँचथर सिमाना रांकेदेखि इलाम बजारसम्म सवारीसाधन चल्न थालेका छन्।

राजदुवाली खण्डमा करिब डेढ किलोमिटर सडक अझै अवरुद्ध छ, जसलाई खुलाउन अझै १–२ दिन लाग्ने इलाम सडक डिभिजनका प्रमुख पवन भट्टराईले जानकारी दिनुभयो।
सूर्योदय र इलाम नगरपालिकाले यात्रुका लागि निःशुल्क सवारी सुविधा सञ्चालन गरेका छन्। बीचको अवरुद्ध खण्डमा यात्रुले पैदल यात्रा गर्नुपर्ने अवस्था छ। राजमार्ग क्रमशः सुचारु हुँदै गएसँगै खाद्यान्न र राहत सामग्री ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी–पहिरोमा ३९ जनाको मृत्यु, १ जना बेपत्ता र २६ जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार राहत वितरण र क्षतिको विवरण संकलन कार्य जारी छ।
नेपाल विद्युत् प्राधिकरणले क्रमशः सदरमुकाम र आसपासका गाउँहरूमा विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने काम जारी राखेको इलाम विद्युत् वितरण केन्द्रका प्रमुख बिजीली प्रसाद यादवले बताउनुभयो।

उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्था र स्थानीयवासीहरू सक्रिय रहेका छन्। सेनाले गर्भवती महिला र बिरामी उद्धारमा अग्रणी भूमिका खेलेको छ।
मेची राजमार्ग छिटो सञ्चालनमा ल्याउन आज स्थानीयको श्रमदान आवश्यक रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। एक्स्काभेटरसँगै बाँसको टाटी प्रयोग गरी माटो अड्याउने र अस्थायी बाटो खोल्ने तयारी भइरहेको बताइएको छ। नजिकका स्थानीयलाई श्रमदानमा सहभागी हुन अनुरोध गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्