सफा सहरको सपना अधुरो : नेपालगन्जका सडकहरू फोहोरको थुप्रोले दुर्गन्धित, जनस्वास्थ्य संकटमा

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले “सफा, हरित र स्वास्थ्यमय नेपालगन्ज” बनाउने लक्ष्यसहित थालेको अभियान व्यवहारमा कमजोर देखिन थालेको छ। पछिल्ला दिनमा शहरका मुख्य सडकहरू फोहोरको थुप्रोले भरिन थालेका छन्, जसका कारण वातावरण मात्र होइन, जनस्वास्थ्यसमेत संकटमा परेको छ।
मुख्य सडकमै दुर्गन्ध र फोहोरको थुप्रो
विशेषगरी महेन्द्र बहुमुखी क्याम्पसअगाडिको नेपालगन्ज–जमुनाहा सडक खण्ड फोहोरको थुप्रोले दुर्गन्धित भएको छ। सडेगलेका तरकारी, कुखुराका प्वाँख र आन्द्रा जस्ता कुहिने वस्तुहरू सडक किनारमा थुप्रिएर गन्हाउन थालेका छन्। दैनिक सयौँ विद्यार्थी र सर्वसाधारण यही बाटो हुँदै आवत–जावत गर्ने भएकाले उनीहरूलाई दुर्गन्धका कारण सास्ती भएको छ।
स्थानीय बासिन्दाका अनुसार फोहोर फाल्नेमा कुखुरा फ्रेस हाउस, मासु काट्ने केन्द्रका सञ्चालकहरूको संलग्नता रहेको छ। यसले क्याम्पस परिसरकै पठनपाठन वातावरणमा पनि असर पुर्याएको विद्यार्थीहरूको गुनासो छ।
वडामा वडामा फोहोरको थुप्रो
फोहोरको समस्या केवल क्याम्पस क्षेत्रमै सीमित छैन। वडा नं. ८ अन्तर्गत रंगशाला जाने सडक किनारमा नगरपालिकाले नै फोहोर थुपार्ने गरेको छ भने वडा नं. ९ को पिरलीपुर्वा, महापुर्वा र बाबु गाउँको बीचको क्षेत्रमा समेत फोहोरको थुप्रो बढ्दै गएको छ।
स्थानीयहरूका अनुसार, केही ठाउँमा नगरपालिकाले फोहोर थुपार्ने गरेको छ भने केही ठाउँमा अज्ञात व्यक्तिहरू रातिको समयमा फोहोर फाल्ने गरेका छन्। बिहान उठ्नेबित्तिकै दुर्गन्धले सास फेर्नै गाह्रो हुने अवस्था रहेको उनीहरूको गुनासो छ।

स्थानीयको आक्रोश र माग
वडा नं. ९ का इमाम खान भन्छन्, “राति कसैले आएर फोहोर फालिदिन्छ। बिहान दुर्गन्ध र संक्रमणको डरले बाँच्नै गाह्रो हुन्छ।” उनका अनुसार, पटक–पटक उजुरी दिँदा पनि वडा कार्यालयले कुनै ठोस कदम उठाएको छैन।
वडा नं. ८ की उषा ठकुरीको गुनासो पनि उस्तै छ। “वडा कार्यालयले नै फोहोर संकलन गरेर घरको अगाडि थुपार्छ, तर गन्धले घरभित्र बस्नै सकिन्न। धेरैपल्ट जानकारी गराउँदा पनि सुनुवाइ छैन,” उनले भनिन्।
उपमहानगरको प्रतिक्रिया
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले केही ठाउँमा देखिएको फोहोरको समस्या समाधानका लागि पहल भइरहेको र छिट्टै सुधार हुने दाबी गर्नुभयो। तर स्थानीयको अनुभव र गुनासोले सरसफाइ अभियानको कार्यान्वयनमाथि प्रश्न उठाइरहेको छ।
सुझाव र चेतावनी
स्थानीयहरूले उपमहानगरलाई फोहोर फाल्ने स्थानहरूमा सीसीटीभी क्यामेरा जडान गर्न, फोहोर फाल्ने व्यक्तिहरूलाई कडा कारबाही गर्न र नियमित फोहोर संकलन सेवा सञ्चालन गर्न आग्रह गरेका छन्।
एक स्थानीय बासिन्दाले गुनासो गरे, “सफा सहरको सपना देखाउने पालिकाले हामीलाई दुर्गन्ध र रोगको जोखिममा बाँच्न बाध्य बनाएको छ।”
यदि उपमहानगरपालिकाले तत्काल ठोस कदम नचाले, यो समस्या न केवल शहरको छविमाथि असर पार्नेछ, बरु ‘सफा सहर’ अभियानकै विश्वसनीयतामाथि प्रश्न उठ्नेछ।
प्रतिक्रिया राख्नुहोस्