मेसिनबाट धान काट्दै किसान, प्रविधिमैत्री कृषितर्फ आकर्षण
नवलपरासी, पश्चिम।पछिल्ला वर्षहरूमा परम्परागत खेतीपद्धतिलाई बिस्तारै विस्थापित गर्दै किसानहरू प्रविधिमैत्री खेतीतर्फ आकर्षित भइरहेका छन्। प्रविधिको विकाससँगै खेती सहज र समय बचत हुने भएकाले कृषिमा यान्त्रीकरण बढ्दो छ।
नवलपरासीमा पनि केही वर्षदेखि धान काट्न विभिन्न उपकरणहरू प्रयोगमा आउन थालेका छन्। किसानहरूले मिनी टिलर, थ्रेसर र धान काट्ने मेसिनहरूको प्रयोग बढाएका छन्। हातैले धान काट्दै आएका किसानहरू अहिले मेसिन प्रयोग गर्न थालेका छन्।
पहिले गोरु र धेरै संख्यामा खेतालाको प्रयोग हुने धान खेतीमा अहिले किसानहरू प्रविधिमैत्री पद्धतितर्फ लागेका छन्। ठूला फाँट र भौगोलिक रूपमा सहज खेतहरूमा भारतबाट ल्याइएका ठूला मेसिनले धान काट्ने काम भइरहेको छ भने अन्य ठाउँमा हाते ट्याक्टरमा जडान गरिएका साना उपकरणमार्फत कटानी हुँदै आएको छ।
स्थानीय तह, कृषि ज्ञान केन्द्र र केही सहकारी संस्थाले लागत साझेदारीमा कृषि यन्त्रहरू वितरण गरे पनि ती सबै किसानको पहुँचमा पुग्न सकेका छैनन्। जिल्लामा धान रोप्ने मेसिन भने खासै प्रचलनमा आएको छैन। तर काट्नेदेखि थन्क्याउने कामसम्म अधिकांश किसानले प्रविधिको प्रयोग गर्न थालेका छन्।
श्रम अभाव र समयमा खेताला नपाइने समस्यालाई मेसिनले सहज बनाएको किसानहरूको अनुभव छ। बर्दघाट नगरपालिका–१४ का किसान लक्ष्मणजङ्ग हमालका अनुसार मेसिन प्रयोग गरेर एक घन्टामा करिब ६ कट्ठा धान काट्न सकिन्छ। आफ्नै मेसिन खरिद गरेका उनले स्थानीय तहले किसानको लागत साझेदारीमा यस्ता उपकरण उपलब्ध गराउनुपर्ने बताएका छन्।
ठूला मेसिनहरूले पराल धुलो बनाउने भएकाले धेरै किसानले मिनी टिलरको प्रयोग गर्न थालेका छन्। धानसँगै प्राप्त हुने पराल पशुपालनका लागि आहारको रूपमा प्रयोग हुने भएकाले किसानले टौवा बनाएर वर्षभरि प्रयोग गर्ने व्यवस्था गर्छन्।
नवलपरासीमा धान प्रमुख बाली हो। तर किसानहरूले समयमा मल, बीउ, बिजन र सिंचाइ सुविधाको अभावका कारण अपेक्षित उत्पादन गर्न नसकिएको गुनासो गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्