नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरूमा हस्ताक्षर
काठमाडौँ । नेपाल सरकार र जर्मन सरकारबीच वित्तीय र प्राविधिक सहयोग सम्बन्धी सम्झौताहरूमा आज हस्ताक्षर भएको छ ।
नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव धनिराम शर्मा र जर्मन सरकारको तर्फबाट नेपालका लागि संघीय गणतन्त्र जर्मनका राजदूत उडो भोल्जले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताले नेपालको ऊर्जा, कृषि, दिगो आर्थिक विकास शासन तथा समावेशी विकासका लागि सहायता गर्ने लक्ष्य राखिएको छ ।
वित्तीय सहयोग सम्झौताअन्तर्गत जर्मन सरकारले “पावर डिस्ट्रीब्युसन स्ट्रेन्थेनिङ कार्यक्रम ( PoDiSp ) मा सहयोगस्वरूप २० मिलियन युरो सम्मको प्रतिबद्धता जनाएको छ । यस परियोजना नेपालको विद्युतीय वितरण प्रणालीको स्तरोन्नति र सुदृढीकरणमा केन्द्रित हुनेछ र नेपाल विद्युत् प्राधिकरण मार्फत कार्यान्वयन गरिनेछ ।
यसैगरी प्राविधिक सहयोग सम्झौता सन् १९७४ मा हस्ताक्षर गरिएको दीर्घकालीन ढाँचागत सम्झौता र सन् २००९ मा संशोधित सम्झौतामा आधारित रहेको छ । यसअन्तर्गत २१ मिलियन युरो सम्मको अनुमानित प्रतिबद्धता रहेको छ ।

जसअन्र्तगत स्वास्थ्य क्षेत्र, राष्ट्रिय लैङ्गिक समानता तथा सामाजिक समावेशी रणनीति ,कृषि तथा निजी क्षेत्र विकास, समावेशी र जलवायु–प्रतिकारशील आर्थिक विकासलाई प्रवद्र्धन गर्ने र शासन क्षेत्रमा, राजस्व क्षेत्र सुधारमा आधारित परियोजना अघि बढाइने बताइएको छ ।
सम्झौतामा हस्ताक्षर पश्चात् अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले सम्झौताहरूले नेपाल–जर्मनबिचको सम्बन्धको प्रगाढता र स्थायित्वलाई प्रतिबिम्बित गर्ने र समावेशी तथा दिगो विकासप्रतिको साझा प्रतिबद्धता दर्साउने बताउनुभयो ।
जर्मन संघीय गणतन्त्रका राजदूत उडो भोल्जले यो नयाँ प्रतिबद्धताले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रमा नेपाल र नेपाली जनतासँगको सहकार्यलाई अझ प्रगाढ बनाएको बताउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्