तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा बुलेरो दुर्घटना, एक जनाको मृत्यु र ६ घाइते

ताप्लेजुङ।ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ मा मंगलबार साँझ बुलेरो गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

गाउँपालिकाकै ढङ्ढङगे झरनाबाट आङखोपतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३४७० नम्बरको बुलेरो सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। दुर्घटनामा झापाको बुद्धशान्ति निवासी ६० वर्षीय लोकबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार सिदिङवा–३ आङखोपका ६० वर्षीय लोकबहादुर चौहान र ४५ वर्षीय प्रकाश चौहान गम्भीर घाइते भएका छन्। त्यस्तै ३० वर्षीया सिर्जना चौहान, ४ वर्षीय प्रियान्स चौहान, ३ वर्षीया प्रियन्सा चौहान र चालक ४० वर्षीय प्रकाश सुवाङ घाइते भएका छन्।

सबै घाइतेको साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने एक जनालाई थप उपचारका लागि झापा पठाइएको स्थानीयले बताएका छन्। प्रहरीका अनुसार पारिवारिक भ्रमणबाट फर्किने क्रममा साँझ करिब ६ः३० बजे दुर्घटना भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button