तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बाढीपीडितलाई आफूखुसी राहत वितरण गर्न नपाइने

झापा । झापामा बाढीपीडितलाई आफूखुसी राहत वितरण गर्न रोक लगाइएको छ ।

जिल्ला बिपद व्यवस्थापन समिति झापाको आज जिल्ला प्रशासन कार्यालयको सभा हलमा बसेको बैठकले सो निर्णय गर्दै राहत वितरणको नेतृत्वका जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको हो ।

जिल्ला बिपद व्यवस्थापन समिति झापाका  संयोजक प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकमा संघीय सांसद लालबहादुर साँवा लिम्बू, कोशी प्रदेश सरकारका राज्यमन्त्री भूमिप्रसाद राजवंशी, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न संघ–संस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

बैठकले स्थानीय तहको नेतृत्वमा एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले जानकारी दिनुभयो । 

स्थानीय तहबाट मात्र राहत वितरण सम्भव नहुने भएकाले जिल्ला तहबाट पनि राहत जुटाई स्थानीय तहमा आवश्यकता र प्राथमिकताका आधारमा राहत सामग्री पठाउने, यस्तो सामग्री सम्बन्धित स्थानीय तहको नेतृत्वमा पारदर्शी ढंगले प्राथमिकता प्राप्त व्यक्तिहरूलाई वितरणको व्यवस्था मिलाउने निर्णय गरिएको उहाँले बताउनुभयो ।

बैठकको निर्णय अनुसार विपद्को बेला सहयोग गर्न इच्छुक दातृ निकाय तथा अन्य सङ्घसंस्था, महानुभावहरूलाई जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर तोकिएको स्थानीय तहमा गई उक्त स्थानीय तहको संयोजनमा राहत वितरण गर्न सक्ने व्यवस्था गरिएको छ । 

झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, शिवसताक्षी नगरपालिका, भद्रपुर नगरपालिका लगायतका स्थानीय तहमा धेरै घरहरू डुबानमा परेका छन् । कैयौँ परिवार अस्थायी रुपमा विस्थापित हुनु परेको छ भने धान तथा अन्य खेतीवाली र पशुधन समेत क्षति भएको छ । झापामा ५ हजारभन्दा बढी परिवार प्रभावित भएको प्रारम्भिक अनुमान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button