बाढीपहिरा कहर : चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध
काभ्रेपलाञ्चोक। गत शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात् पछिको बाढीपहिरोले यहाँको चार स्थानीय तहमा सडक सञ्जाल र विद्युत् सेवा अवरुद्ध भएका छन् ।
ती गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध हुँदा कतिपय ग्रामीण क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएको छ भने सडक अवरुद्ध हुँदा आजवजावतमा केही दिन पर्खनुपर्ने बाध्यता रहेको जनाइएको छ ।
जिल्लाको खानीखोला, महाभारत, रोशी र बेथानचोक गाउँपालिका जाने सडक पहिरोले अवरुद्ध भएका हुन् । केही गाउँपालिकाले भने सोमबारदेखि आवश्यक उपकरणसहित सडक खुलाउन थालेका छन् । बाढीपहिरोले अति विकट महाभारत पर्वत श्रृङ्खलापारी (डाडाँपारी) का दुई गाउँपालिका जाने सडक पूर्णरुपमा बन्द भएको हो । विशेषगरी त्यस क्षेत्रका दुई गाउँपालिका खानीखोला र महाभारत जाने सडक खुल्न हप्ता दिन लाग्ने स्थानीय तहका जनप्रतिनिधिले जनाएका छन् ।
महाभारतमा सडक, विद्युत् र सञ्चार–सम्पर्कबाट विच्छेद भएको छ । सडक अवरुद्ध भएका कारण महाभारत जाने कुनै विकल्पिक सडक नभएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिका कार्यालय जाने मुख्य सडकसहित विभिन्न वडामा जाने सबै सडक विभिन्न ठाउँमा अवरुद्ध भएको छ । “यी सबै क्षतिग्रस्त सडक बनाउन हप्ता दिनभन्दा बढी लाग्न सक्छ, विद्युत् सेवा पनि अवरुद्ध भएकाले दुवै सेवालाई कसरी सुरु गर्ने भन्ने तत्कालै योजना बनाइरहेका छौँ”, जिम्बाले भन्नुभयो । उहाँका अनुसार मुख्य गरी महाभार जाने बिपी राजमार्गसँग जोडिएका चौकीडाँडा–सिपाली, पिन्थली–रजवास, मंगलटार–डाडाँखर्क र पिप्ले–भीमखोरी खण्डका सडक सबै अवरुद्ध भएका छन् ।
यस्तै डाँडापारी अवस्थित गाउँपालिका खानीखोला जाने सबै सडक अवरुद्ध भएकाले मर्म गरी सडक खुलाउन केही समय लाग्ने अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि सडक खुलाउन मेसिन प्रयोग भइसकेको छ । “सडक अवरुद्ध भएकले इन्धन व्यवस्थापनमा समस्या भएको छ, हामी प्रयास गर्दैछौँ”, थिङले भन्नुभयो । उहाँले एक÷दुई दिनमै विद्युत् सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति खटाएको बताउनुभयो ।
रोशीको सडकअन्तर्गत बिपी विभिन्न स्थानमा अस्थायी डाइभर्सन कटान गरेपछि विभिन्न वडा जाने सडक अवरुद्ध भएको छ । चौकीडाँडा र घुमाउनेमा सडक बनेपछि मात्र गाउँपालिका केन्द्र सडक सञ्जालसँग जोडिने अध्यक्ष दिनेश लामाले बताउनुभयो । उहाँका अनुसार रोशीमा विद्युत् सेवा आंशिक रुपमा अबवरुद्ध भएकाले तत्काल पूर्णरुपमा सेवा नियमित गर्न लागिएको छ ।
यसैगरि बेथानचोकमा अबरुद्ध सडक खुलाउन आइतबारदेखिले जनप्रतिनिधिहरु सक्रिय भएका छन् । अबरुद्ध मुख्य सडकलाई खुलाउन प्राथमिकता दिइएको जनाइएको छ । गाउँपालिका कार्यालयबाट अन्य वडा जोडिने सडकलाई खुलाउन आवश्यक मेसिनहरु प्रयोग भइरहेको गाउँपालिका अध्यक्ष भगवान् अधिकारीले बताउनुभयो । जिल्लामा बाढीपहिरोले दुईको मृत्यु भएको छ भने पूर्वाधारका क्षेत्रलगायत निजी भौतिक संरचनामा निकै ठूलो क्षति भएको जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्