३६ घण्टापछि इलाममा विद्युत् सेवा क्रमशः सुचारु
इलाम।बाढी–पहिरोका कारण अवरुद्ध भएको इलाम जिल्लाको विद्युत् सेवा ३६ घण्टापछि क्रमशः सुचारु हुँदै गएको छ। नेपाल विद्युत् प्राधिकरणले झापा धुलाबारीको पुरानो लाइन सञ्चालनमा ल्याएर फिक्कल, कन्याम, पशुपतिनगर र नयाँबजार क्षेत्रमा बत्ती बाल्न सफल भएको जनाएको छ।
यस्तै, पाँचथरको थापाटारबाट अर्को सर्किटमार्फत गोदक हुँदै १३२ केभी लाइन सञ्चालन गरेर इलाम बजार र देउमाई नगरपालिकामा विद्युत् आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ।
तर इलाम नगरपालिका अन्तर्गत साखेजुङलगायतका केही स्थानमा तार छिनेका कारण अझै विद्युत् आपूर्ति पुनःस्थापना हुन सकेको छैन। सन्दकपुर गाउँपालिकातर्फ जाने लाइनमा करिब डेढ किलोमिटर तार चुटिएको र त्यसको मर्मतका लागि केही समय लाग्ने प्राधिकरणले जनाएको छ।
फाकफोकथुमतर्फ जाने लाइनमा पोल र तार दुवै क्षतिग्रस्त भएका छन् भने माङ्सेबुङ गाउँपालिकातर्फ जाने लाइन पुल नहुँदा जोड्न सकिएको छैन। त्यहाँको क्षति अवस्था निरीक्षणपछि मात्रै मर्मत कार्य सुरु गरिने बताइएको छ।
नेपाल विद्युत् प्राधिकरण इलाम शाखाका प्रमुख बिजलीप्रसाद यादवका अनुसार अविरल वर्षा र पहिरोका कारण वितरण लाइनहरू क्षतिग्रस्त भए पनि प्राविधिक टोलीले अविराम प्रयास गरेर धेरै क्षेत्रमा सेवा पुनः सुचारु गरेको छ। बाँकी क्षेत्रमा पनि छिट्टै मर्मत कार्य पूरा गरी सम्पूर्ण जिल्लामा नियमित आपूर्ति पुनःस्थापना हुने यादवले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्