काठमाडौँ महानगरद्वारा बाढी प्रभावित क्षेत्रमा सफाइ सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित क्षेत्रमा सरसफाइ सुरु गरेको छ ।
शुक्रवारदेखिको अविरल वर्षाका कारण प्रभावित बल्खु, टेकु, विष्णुमती करिडोर लगायत क्षेत्रमा नगर प्रहरी र सफाइकर्मीको सहायताले सफाइ तथा हिलो व्यवस्थापनको काम भइरहेको महानगरले जनाएको छ ।
नगर प्रहरी बलका नायब उपरीक्षक मीनबहादुर थापाका अनुसार आज बिहानदेखि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका एक सय जना कामदार, तीन वटा जेसिभी, तीन वटा जेट मेसिन र डम्पर प्रयोग गरी प्रभावित क्षेत्रमा काम भएको छ ।
बल्खु तरकारी बजार, साझा पेट्रोल पम्प अगाडि, टेकु दोभान, बङ्सीघाट, च्यासल, शङ्खमूल, नरेफाँटको लालीगुराँस चोक तथा विष्णुमती कोरिडोर क्षेत्रमा विशेष रूपमा बाढीजन्य सफाइको काम गरिएको थापाले जानकारी दिनुभयो । बङ्सीघाट र टेकु दोभान क्षेत्रमा अत्यधिक हिलोका कारण मेसिनले समेत काम गर्न नसक्दा आजको काम अधुरो रहेको उहाँले बताउनुभयो ।
“हिलो पूरै पानी पानी भएको छ । साबेलले निकाल्न र मेसिनले समेत सोहोर्न नसक्ने अवस्था छ । त्यसैले आज केही ठाउँमा काम गर्न सकिएको छैन । घाम लागेमा भोलिदेखि बाँकी रहेका सबै काम गर्ने तयारी छ”, थापाले भन्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्