सुनसरीमा बाढीले सयौँ घर डुबानमा
धरान (सुनसरी) । लगातारको वर्षाले सुनसरीमा बाढीपहिरोको जोखिम बढेको छ ।
सुनसरीमा बाढीका कारण आज करिब एक हजार ३६ घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले वर्षाका कारण खोलानाला बढेपछि जिल्लाका विभिन्न नगर तथा गाउँपालिका क्षेत्रका बस्तीहरूमा बाढी पसेको बताउनुभयो । डुबानमा परेका अधिकांश घरहरूबाट मानिसहरू अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको पनि उहाँले जानकारी दिनुभयो ।
यहाँको भोक्राहा नरसिंह गाउँपालिका–५ मा करिब ३०० घर, बराहक्षेत्र नगरपालिका–८ मा १६० घर र इनरुवा नगरपालिका–१० को जाल्पापुर क्षेत्रमा ३०० भन्दा बढी घरभित्र बाढी पसेको जनाइएको छ ।
त्यस्तै, इनरुवा–४, ८, ९ र १०, रामधुनी–६, ७ र इटहरी उपमहानगरपालिका–५ का बस्तीहरूमा पनि केही घर डुबानमा परेका छन् । प्रवक्ता खतिवडाले भन्नुभयो, “धेरैजसो सुकुम्वासी बस्ती डुबानमा परेका छन्, तर पूरै विस्थापित हुने गरी डुबान भएको छैन । सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेका छौँ ।”
बाढीका कारण इनरुवा–४ स्थित जानोद्दय आधारभूत विद्यालय र भोक्राहास्थित कार्डियो न्युरो अस्पतालसमेत प्रभावित भएका छन् । अस्पताल परिसर डुबानमा परेपछि सशस्त्र प्रहरी बलको सहयोगमा डुङ्गामार्फत चिकित्सकलाई अस्पतालभित्र पु¥याइएको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।
बराहक्षेत्र नगरपालिका–८ स्थित दोभान खोलाले ४५ वर्षीय नवराज उरावलाई बगाएको छ । उहाँको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रभावित क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा अन्य निकायका टोलीहरू उद्धार तथा राहत कार्यमा सक्रिय रहेका छन् । बाढीबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सार्ने, राहत वितरण गर्ने र थप क्षति हुन नदिन सतर्कता अपनाउने कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।
यसैबीच धरान उपमहानगरपालिका–१३ स्थित धरान–भेडेटार सडकखण्ड निसानेमा गएराति गएको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ ।
प्रतिक्रिया राख्नुहोस्