तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्ज : डुबानमा फसेका ५ सय बढीको उद्धार 

वीरगञ्ज । शुक्रबार रातीदेखि परेको अविरल वर्षाका कारण सिर्सिया नदीको जलस्तर बढेर मानव बस्तीमा छिर्दा वीरगन्ज महानगरमा सयौँ घरहरू डुबानमा परेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीका अनुसार सिर्सिया नदीको जलस्तर बढेर वीरगन्ज महानगरपालिकाको वडा नम्बर ९, १०, ११, २३ र २४ मा बाढी पसेर घरहरू डुबानमा परेका हुन् ।

आज अपराह्न ३ बजे सम्म डुबानमा परेका बस्तीहरूबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगरको नगर प्रहरीको टोलीले ५ सय बढी मानिसलाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो । 

उद्धार गरिएका व्यक्तिहरूलाई नजिकको विद्यालय, धर्मशाला, क्लबका भवन लगायतमा लगेर राखिएको र उनीहरूलाई वीरगन्ज उद्योग वाणिज्य सङ्घको समन्वयमा वीरगन्ज महानगरपालिकाले ड्राइ फुड, पिउने पानी तथा आवश्यक औषधि वितरण गरेको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिनुभयो । 

बस्तीमा पसेको बाढीको पानी पूर्ण रुपमा कम नभएसम्म उनीहरूलाई घर नफर्काइने पनि सुबेदीले बताउनुभयो । 

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सिर्सिया नदीको बाढीबाट हालसम्म वीरगन्ज महानगरका आधा दर्जन भन्दा बढी वडा डुबानमा परेको जानकारी दिनुभयो । आज बिहान डुबानमा परेका वडाहरूमा आफैँ पुग्नुभएका नगर प्रमुख सिंहले घरभित्र पानी पसेर अलपत्र परेका परिवारहरूलाई उद्धार गरेर नजिकको सुरक्षित स्थानहरूमा राखिएको र उनीहरूलाई खानपान र बासको प्रबन्ध मिलाइएको बताउनुभयो । 

बस्तीमा पसेको बाढीको पानी निकासका लागि महानगरपालिकाले आफ्ना चार वटा डोजरहरू बिहानैदेखि परिचालन गरिएको जानकारी पनि उहाँले दिनुभयो । 

डुबानग्रस्त क्षेत्रहरूमा उद्धार र राहत वितरणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगरको नगर प्रहरी गरी १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । वीरगंंजमा बाढि र डुबानबाट अहिलेसम्म मानवीय क्षति नभए पनि घरहरूमा बाढीको पानी पसेर डुबान हुँदा सरसामान, लत्ता कपडा, खाद्यान्न लगायतका सामाग्री नष्ट भएको छ । 

यसैबीच वीरगन्ज महानगरपालिका–२४ रामगढवामा रहेको वीरगन्ज जीतपुर गौशालामा सिर्सिया नदीकै बाढी पसेर डुबानमा परेका १३२ वटा गाईलाई नगर प्रहरीको सहयोगमा सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेको पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button