तपाईँ सुन्दै हुनुहुन्छः

असोज १७ गतेदेखि २० गतेसम्म रातका समयमा काठमाडौँ आवतजावत नगर्नू : काठमाडौँ प्रशासन

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागबाट जानकारी प्राप्त भएकाले अबको केही दिन रातको समयमा काठमाडौँ भित्रिन र यहाँबाट बाहिर यात्रा नगर्न अनुरोध गरेको छ ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान तथा प्रेषित सूचना बमोजिम यही असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा भारी वर्षा हुने र सोबाट जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटनाहरू घट्न सक्ने सम्भावना भएको हुँदा आ–आफ्नो स्थानमा नै रही सतर्कता र सावधानी अपनाउन अनुरोध गरिएको बताउनुभयो । 

उहाँले अत्यन्त जरुरी नभई सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न पनि अनुरोध गर्नुभएको छ । उहाँले एक सूचना जारी गरी भन्नुभएको छ, “काठमाडौँबाट बाहिर जाने र बाहिरबाट काठमाडौँ प्रवेश गर्ने महानुभावहरूले रातको समयमा यात्रा नगर्नु हुन अनुरोध छ ।”

विपद्को समयमा तत्काल कुनै प्रकारको उद्धार, सहयोग र राहत आवश्यक परेको खण्डमा जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नं. १६६०–०१–४१५१६, ९८५१२८३०२६, ०१–५७२१०१७, सशस्त्र प्रहरी बल नेपाल नं. २० (विपद उद्धार) गण, सिनामंगलको सम्पर्क नं. ९८५१२७२०३५, ०१– ४४७१३३७ र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको सम्पर्क नं. ९८५१३६२९३७ मा सम्पर्क गर्न समेत प्रशासनले सूचना जारी गरी अनुरोध गरेको छ ।

यसअघि नै ललितपुर प्रशासनले पनि कान्ति लोकथपका सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ ।  बिहान ६ देखि दिउँसो ४ बजेसम्म मात्र सवारी सञ्चालन गर्ने र चार चक्केभन्दा ठूला सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भइसकेको छ ।

अन्य विभिन्न जिल्लाले पनि जोखिम क्षेत्रमा सवारी आवागमन रोक्ने निर्णय गरिसकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै मनसुनी गतिविधि सक्रिय हुने छ ।  शनिवार र आइतबार बढी वर्षा हुने अनुमान विभागले सार्वजनिक गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button