तपाईँ सुन्दै हुनुहुन्छः

विपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा आजदेखि रातिको समयमा सवारी साधन आवतजावतमा रोक लगाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको सम्भावना एवं बाढी पहिराको उच्च जोखिम पूर्वानुमान गरेपछि सवारी साधान आवतजावतमा रोक लगाइएको हो । 

जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकको आजको बैठकले उक्त राजमार्गमा जोखिमलाई मध्यनजर गर्दै असोज २१ गते रातिसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको हो । समितिले साँझ ५ बजेदेखि भोलिपल्ट बिहान पाँच बजेसम्मको अवधिमा सवारी साधन नचलाउन भनेको हो ।

राजमार्गअन्तर्गत धुलिखेलको काभ्रे भञ्ज्याङदेखि भकुण्डे–सिन्धूलीसीमा नेपाल थोकको सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताउनुभयो ।  

राजमार्गमा मनसुनको जोखिमका कारण गत भदौ १६ गतेदेखि १५ दिनसम्मका लागि पनि सवारी सञ्चालनमा रोक लगाइएको थियो । 

समितिले हाल मनसुन सक्रिय रहेको अवस्थामा विपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि सवारी  सञ्चालनमा रोक लगाइएकाले सतर्कता अपनाउन सार्वजनिक अपिल समेत गरेको छ । 

समितिका अनुसार काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रे भञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपाल थोकमै रोकिने छ । 

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलान्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले यही असार ७ गतेदेखि विपी राजमार्गमा साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । 

गत वर्ष असोजमा बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकको चौकी डाँडादेखि सिन्धुलीको बर्षे खोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडक नै बगाएको थियो । सो राजमार्गमा कतै त कतै कतै दुईतर्फी यातायात सञ्चालन हुने गरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । बाढीपहिरोले राजमार्गको कुल १६० किलोमिटरमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपाल थोकसम्म ३४ किमी र चौथो खण्ड नेपाल थोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button