तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीको अर्ग्यानिक स्याउ : उपभोक्ता र किसान दुवै लाभान्वित

बाँके । हेर्दा आकर्षक, खाँदा स्वादिलो र विषादीरहित कर्णालीको स्याउ अहिले आम उपभोक्ताको पहिलो रोजाइ बनेको छ । नेपालगन्ज, कोहलपुर, सुर्खेत, दाङदेखि बुटवलका बजारसम्म कर्णालीको जुम्ली स्याउले आफ्नो मिठास र गुणस्तरले उपभोक्ताको मन जितेको छ ।

चार दशकदेखि नेपालगन्जमा कर्णालीको स्याउ थोक बिक्री गर्दै आएका व्यापारी प्रेमलाल साहु तेलीका अनुसार अहिले भारतीय स्याउको तुलनामा सस्तो, स्वादिलो र अर्ग्यानिक भएकाले कर्णालीको स्याउले बजारमा दबदबा जमाएको छ । उनका अनुसार सुर्खेत, नेपालगन्ज, धनगढी, बुटवल लगायतका सहरमा जुम्लाको स्याउ खोज्दै ग्राहक आउने क्रम बढ्दै गएको छ ।

नेपालगन्जमा ग्रेडिङ गरिएको कर्णालीको स्याउ प्रतिकिलो अधिकतम रु. १६० मा थोकमा बिक्री हुने गरेको छ भने ग्रेडिङ नभएको न्यूनतम रु. १०० मा पाइन्छ । आकार र गुणस्तरअनुसार १०० देखि १६० रुपैयाँमै व्यापारीले खरिद गरी पश्चिमका विभिन्न सहरमा बिक्री गर्ने गरेका छन् ।

विगतमा भारतीय र चिनियाँ स्याउले भरिने बजार अहिले कर्णालीको अर्ग्यानिक स्याउले ओगटेको छ । सडक विस्तार र सहज ढुवानीका कारण जुम्लाको रेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ नेपाली बजारमा बलियो उपस्थित भएका छन् । व्यापारी साहुका अनुसार साउनदेखि असोजसम्म पश्चिम नेपालका सहरमा कर्णालीको स्याउले विदेशी स्याउलाई विस्थापित गर्ने गरेको छ ।

किसानलाई फाइदा, अर्थतन्त्रलाई टेवा

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका चिरञ्जीवी ओलीका अनुसार कर्णालीको स्याउ बजार विस्तार हुनुले किसान मात्र नभई स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाएको छ । गुणस्तर र ढुवानीमा अझ ध्यान दिन सके उत्पादन र बिक्री दुवै गुणात्मक रूपमा बढ्ने उनको भनाइ छ ।

नेपालगन्जका धम्बोझी, कारकाँदो लगायतका चोकमा अहिले कर्णालीका महिलाहरू पङ्क्तिबद्ध भएर स्याउ बिक्री गर्दै छन् । अस्थायी रूपमा बस्ने महिला वा विद्यार्थीले पनि चाडपर्वको सिजनमा स्याउ बिक्री गरी राम्रो आम्दानी गर्ने गरेका छन् । जुम्लाकी शीतली रोकायले नेपालगन्जमा दैनिक २५–३० किलोसम्म स्याउ बेचेर दशैँ–तिहार मनाउने खर्च जुटाउने गरेको बताइन् ।

कर्णालीको स्याउ चाडपर्वमा कोसेलीको रूपमा घरघर पुग्ने गरेको छ । आयातित स्याउभन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले उपभोक्ताले तीज, दशैँ, तिहारमा उपहारस्वरूप लैजान रोज्ने गरेका छन् ।

गत वर्ष नेपालगन्जबाट करिब तीन हजार क्विन्टल कर्णालीको स्याउ बिक्री भएकोमा यो वर्ष पाँच हजार क्विन्टलसम्म पुग्ने अनुमान गरिएको छ । व्यापारी साहुका अनुसार उत्पादन बढाउने र चिस्यान केन्द्र निर्माण गर्ने हो भने नेपाली स्याउले कम्तीमा ६ महिना देशकै माग धान्ने सम्भावना छ ।

किसान र व्यवसायीको जोड बलमै अहिले कर्णालीको स्याउ बजारमा टिकेको छ । तर, दीर्घकालीन रूपमा अझ ठूलो बजार सुनिश्चित गर्न सरकारले स्याउ खेतीलाई प्राथमिकतामा राख्दै प्रोत्साहनमूलक नीतिगत पहल गर्नुपर्ने व्यवसायीको सुझाव छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button