बबरगन्जमा झिझिया प्रतियोगिता सुरु
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका २, बबरगन्जमा परम्परागत झिझिया नृत्यलाई संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले झिझिया प्रतियोगिता सुरु भएको छ ।

स्थानीय दुर्गा पूजा समितिको आयोजनामा सुरु गरिएको यो प्रतियोगिता घटस्थापनाका दिनदेखि निरन्तर सञ्चालन हुँदै आएको हो । झिझिया हमर धरोहर हई नकी नाच तमासा अर्थात् झिझिया हाम्रो धरोहर हो खेल तमासा देखाउने नृत्य होइन मुल नाराका साथ घटस्थापनाका दिनदेखि नै सुरु गरिएको छ । आयोजकले कम्तीमा ५ जना र बढीमा ९ जना, टाउकोमा झिझिया अनिवार्य हुने, झिझिया गीतमा मात्र नृत्य गर्न पाउने, सांस्कृतिक पोसाक अनिवार्य लगाउने नियम बनाएको दुर्गा पूजा समिति अध्यक्ष अशोक महतोले जानकारी दिनुभयो ।

झिझिया नृत्यमा सहभागी हरेक समूहलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने दुर्गा पूजा समितिले जनाएको छ । बबरगंजका युवा नातेश्वर सिंहका अनुसार झिझिया प्रतियोगिता विगत दुई वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको छ । स्थानीयवासीका अनुसार झिझिया नृत्य प्राचीनकालदेखि हिन्दू धर्मावलम्बी विशेष गरी दुर्गा पूजाको अवसरमा नचाइँदै आएको मौलिक संस्कृति हो ।

झिझिया प्रतियोगिता हेर्न सर्लाहीको चन्द्रनगर, ईश्वरपुर, मलंगवा, ब्रह्म्पुरी लगायतका पालिकाबाट हजारौँको सङ्ख्यामा स्थानीयहरू आउने गर्दछन् ।
प्रतिक्रिया राख्नुहोस्