तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, एक बालिकाको मृत्यु, आठ जना घाइते 

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ सिउडीबागस्थित दैजी–जोगबुढा सडक खण्डमा मङ्गलवार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । 

दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से १ ज ४१७ नम्बरको बोलेरो जिप दिउँसो करिब पौने ३ बजे सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अपराह्न साढे ४ बजेतिर महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएका थिए । त्यहाँ उपचारका क्रममा वेदकोट नगरपालिका वडा नम्बर ४ बस्ने तारा पालकी दुई वर्षीया छोरी युविका पालको मृत्यु भएको अस्पतालले जनाएको छ । 

उक्त  दुर्घटनामा कञ्चनपुरको वेदकोट ४ बस्ने ३० वर्षीया तारा पाल र ताराका १० वर्षीय छोरा प्रिन्स पाल, कञ्चनपुरकै कृष्णपुर १ वाणी बस्ने ३३ वर्षीया धाना बोहरा र धानाका ४ वर्षीय छोरा कमल बोहरा, डडेल्धुराको परशुराम  ४ बस्ने  २८ वर्षीय नरेश सार्की, परशुराम ९ बस्ने ३५ वर्षीय देवेन्द्र धामी, २४ वर्षीय वीरेन्द्र कुँवर र वीरेन्द्रकी २१ वर्षीया श्रीमती मनीषा कुँवर घाइते हुनु भएको छ । 

घाइतेहरू सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको र थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।  

दुर्घटनापछि चालक फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button