सरकारी कार्यालयद्वारा पूर्ववत् सेवा प्रवाह
तुलसीपुर (दाङ)। गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा यहाँस्थित आगजनीबाट क्षति भएका सरकारी कार्यालयले सेवा प्रवाह थालनी गरेका छन् । मालपोत कार्यालय तुलसीपुरले शुक्रबारदेखि पुनः सेवा सुरुआत गरेको छ ।
पहिलो दिन जग्गा रोक्का र फुकुवाको काम थालिएकोे छ । आगजनीका कारण क्षतिको भवन पुनः प्रयोग गर्न मिल्ने भएकाले अहिले भुइँ तलाबाट सेवा सुरु गरिएको भएपनि केही दिनमा माथिल्लो तलाबाट सेवा सुरु गर्ने कार्यालय प्रमुख खिमबहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार हाल बचेका श्रेष्ताको समेत काम हुनेछ । क्षतिभएकाको भने केन्द्रबाट निर्देशन आए अनुसार काम गर्ने उहाँको भनाइ छ । हाल साविक तुलसीपुर नगरपालिकासहित लाहुरे चौर, बयालेसिमतारा, बाघमारे, हलवार र मानपुरका श्रेष्ता बचेका छन् । अन्य सात वटाको आंशिक क्षति छ, भने एउटा पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
त्यस्तै इलाका प्रशासन कार्यालयले राहादानी र राष्ट्रिय परिचयपत्रको काम बाहेक अन्य काम सुचारु गरिसकेको छ । जलाइएको कार्यालयलाई मर्मत सम्भार गरी सेवा प्रवाह गरिएको प्रमुख महेश गुरुङले बताउनुभयो । अब राहादानी र राष्ट्रिय परिचयपत्रको काम पनि केही दिनमा सुरु गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
त्यस्तै तुलसीपुर उपमहानगरपापालिकाले स्वास्थ्य उपचारसहित अन्य सिफारिशलगायतका काम सुरु गरेको नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो । उहाँका अनुसार उपमहानगरपालिकाको ट्रेड टावरको सीसामा पनि क्षति भएकाले त्यो सिसा मर्मत हुने वित्तिकै कार्यालय नै त्यतै सार्ने गरी तयारी भएको छ । पालिकाका दुई वटा भवन जलेका छन् । तीमध्ये पुरानो भवन प्रयोग गर्न मिल्ने अबस्थामा रहेको उहाँको भनाइ छ । त्यसलाई मर्मत गर्ने कार्य भइरहेको समेत उहाँको भनाइ छ ।
त्यस्तै उच्च अदालत तुलसीपुरले पनि बन्दीप्रत्यीक्षीकरणका निवेदन दर्ता गर्ने कार्य गरिहेको छ । अन्य सेवा भने अझै सुरु हुन नसकेको अदालतका सूचना अधिकारी कृष्ण शर्माले जानकारी दिनुभयो । अदालतको इजलास निर्माण गर्ने काम तुलसीपुर उपमहानगरपालिकाले गरिदिने भएको छ । यसकालागि उपमहानगरपालिकाले बोलपत्रसमेत गरिसकेको छ । दुई इजलास निर्माण गर्ने गरि बोलपत्र आह्वान गरिएको हो ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरले पनि सेवा थालनी गरिसकेको छ । तुलसीपुर उद्योग बाणिज्य सङ्घले उपलब्ध गराएको भवनबाट सबै सेवा सुरु भइसकेको कार्यालय प्रमुख श्रीधर टन्डनले बताउनुभयो ।
त्यस्तै नेपाल आयल निगम, जलस्रोत तथा डिभिजन सिँचाइ कार्यालय, भू तथा जलाधार कार्यालयले पनि सेवा पुनः सेवा थालनी गरिसकेका छन् ।
प्रतिक्रिया राख्नुहोस्