मिथिलाञ्चलसहित तराई मधेशमा झिझियाको रौनकता
जनकपुरधाम । बडादसैँको अवसरमा मिथिलाञ्चलसहित तराई मधेशमा लोकसंस्कृति नृत्यको रुपमा झिझियाले ग्रामीण तथा शहरी क्षेत्रको रौनकता बढाइदिएको छ ।

अरू समयमा पनि झिझिया नृत्य नहुने चाही होइन तर दशैंको समयमा हुने झिझियाको विशेष रौनकता तथा महत्व रहेको छ । खास गरेर झिझियाको रौनकता महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा सहितको तराई मधेशका प्रायः जिल्ला तथा भारतको सीतामढी र मधुवनीमा यस लोकनृत्यले विशेष आकर्षण रहेको छ ।
झिझिया नृत्य घटस्थापना देखि विजयादशमीसम्म तान्त्रिक विधिअनुसार निर्माण गरिएको घैँटालाई टाउकोमा राखेर महिला तथा युवतिहरूले झिझियाको गीतसहित नाच्ने चलन रहेको छ । झिझिया माता दुर्गा देवीलाई स्तुति गर्ने उद्देश्यले गर्ने गरिन्छ ।
झिझिया नृत्यलाई सुख, समृद्धि, परिवारको सुरक्षा र सन्तानको रक्षा गर्ने सांस्कृतिक विश्वास रहेको संस्कृति विज्ञहरुको भनाई रहेको छ । समाजमा रहेका नकारात्मक शक्तिबाट परिवार र सन्तानको सुरक्षा गर्ने विश्वासले गरिन्छ । दशैंको समयमा नकारात्मक शक्तिको प्रभाव हुने भएकाले त्यसलाई पराजित गर्नका प्रत्येक साँझ झिझिया नृत्य गर्ने चलन रहेको छ ।
झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यस भित्र दियो राखेर महिलाहरूले टाउकोमा राखेर नृत्य गर्ने चलन रहेको छ । मिथिलामा झिझिया नृत्यको इतिहास र मौलिकता निक्कै प्राचीन रहेको छ । मिथिलामा सबै उमेर समूहका महिलाहरू झिझिया नृत्यमा सहभागी हुने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्