तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ कुमारी आर्यतारालाई विधिपूर्वक कुमारी घर भित्र्याइयो

काठमाडौँ । नवघोषित कुमारी आर्यतारा शाक्यलाई विधिपूर्वक वसन्तपुरस्थित कुमारी घरमा आसन गराइएको छ । 

आज काठमाडौँमा आयोजित समारोहमा जीवित देवीका रुपमा सम्मान गरिने कुमारीलाई विशेष बाजागाजासहित पूजा गरी आसन गराइएको हो ।

विशेष गरी हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले पूजा गर्ने कुमारीले औपचारिक जिम्मेवारी ग्रहण गरेपछि अब राजकीय भूमिका सुरु भएको छ । 

इटुम्बहालकी अढाइ वर्षिया शाक्यले विभिन्न धार्मिक गतिविधिमा सहभागी भएर तलेजु भवानीको प्रतीकात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । 

तत्कालीन राजा जयप्रकाश मल्लले कुमारीलाई स्थापना गरेको बताइन्छ । 

कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि कुमारीको दर्शन गर्ने परम्परा छ ।

कुमारी छनोटको विधिअनुसार गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकारवालासँगको सल्लाह तथा परामर्शपछि आर्यतारालाई नयाँ कुमारी छनोट गरिएको थियो । 

यसैबीच हालकी कुमारी तृष्णा शाक्यलाई पनि विशेष समारोहमा पूजाआजा गरी बिदाई गरिएको छ ।

तस्वीरः गोरखापत्र अनलाइन

प्रतिक्रिया राख्नुहोस्

Back to top button