तपाईँ सुन्दै हुनुहुन्छः

दमकको इलाका प्रहरी कार्यालय पुनः स्थापित

झापा । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको भवन पुनः स्थापित गरिएको छ । पुनः स्थापित गरिएसँगै प्रहरीहरू काममा फर्किएका छन् ।

आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनासहित इलाका प्रहरी कार्यालयमा सेवारत प्रहरीहरूलाई फूलमाला, खादा ओढाएर स्थानीयले स्वागत गरेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईँले बताउनुभयो । प्रहरीहरूलाई कोशी प्रदेशसभा सदस्य होमबहादुर थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापालगायतले स्वागत गरेका थिए ।

जेनजी प्रदर्शनका क्रममा आगजनीबाट दमक प्रहरीका पाँचवटा पक्की भवन र गाडीहरूमा क्षति पुगेको थियो भने प्रहरीका पोसाक, हतियारहरूसमेत लुटिएको थियो । लुटिएका हतियारलगायत सामानहरू अझै फिर्ता नभएको प्रहरीको भनाइ छ । प्रहरीले हराएका हतियारहरु सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

आगजनीपछि यहाँका सबै प्रहरी भद्रपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए । दमक नगरपालिकाको विशेष पहलमा सात दिनअघि मात्र उक्त प्रहरी टोली दमक–८ को अर्ग्यानिक सब्जी मन्डीको भवनमा अस्थायी रुपमा सरेका थिए । इलाका प्रहरीको पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घ र ट्राफिक प्रहरीको स्थानीय रोयल स्पोर्टिङ क्लब दमकले अगुवाइ गरेको थियो । ती दुवै कार्यालयको भवन पुनर्निर्माण गरी जति छिटो ती कार्यालय पुनः स्थापित गराउन विभिन्न क्षेत्रबाट नगद तथा जिन्सी सहयोगस्वरुप प्राप्त भएको थियो । प्रहरी पुनः स्थापित भएपछि यहाँको शान्ति सुरक्षा तथा अमनचयन कायम गर्न मद्दत पुग्ने दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुरागाईँले बताउनुभयो । 

क्षतिग्रस्त भवन पुनर्निर्माण गर्न दमक उद्योग वाणिज्य सङ्घले रु पाँच लाख, दमक नगर इसाई समाजले रु दुई लाख १६ हजार ६५५ सहयोग रकम उपलब्ध गराएको थियो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार जिल्लामा विस्थापित प्रहरी कार्यालयहरू स्थानीयरूको सहयोगमा धमाधम पुनः स्थापित हुँदै छन् । जिल्लामा ६९ वटा प्रहरी कार्यालयसहित युनिटमा तोडफोड तथा आगजनी गरिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button