संस्कृतिसँगै परम्परागत हस्तकलाको सीप सिकाउँदै ‘टेम्केमैयुङ’
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका परम्परागत संस्कृतिसँगै हस्तकलाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले पुराना सीप, कला र परम्परागत जीवनशैलीलाई जगेर्ना गरेर नयाँ पुस्तामा पुर्याउने उद्देश्यले विभिन्न हस्तकलासम्बन्धी तालिम सञ्चालन गरेको हो ।
गाउँपालिकाले १५ दिने ढाका र खाडी कपडा बुनाइ तालिमका साथै सात-सात दिने लुकुनी, हलो जुवा, विनायो बाँसुरी, डोको-डालो, मान्द्रो, चित्रा, भकारी, घुम, पेरुङ्गो, गुन्द्री, पिरा, सुकुललगायत दैनिक जीवन र सांस्कृतिक महत्त्वका सामग्री बनाउने तालिम सञ्चालन गरेको छ । यस्तै किराँत संस्कृतिमा प्रयोग हुने धनुकाड र जाली रुमाल बन्ने तालिम पनि प्रदान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतका अनुसार परम्परागत हस्तकलाको संरक्षणसहित त्यसलाई बजारसम्म पुर्याउने र नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । “हामीले जगेर्नासँगै आधुनिक प्रविधिसँग जोडेर यी सीपलाई जीवन्त बनाउन चाहेका हौँ”, उहाँले भन्नुभयो, “यसबाट युवाले आत्मनिर्भरता हासिल गर्न सक्छन् र संस्कृतिको पहिचान पनि जोगिन्छ । कला, संस्कृतिलाई संरक्षण गरेर नयाँ पुस्तासम्म पुर्याउनमा हामीले जोड दिएका छौँ ।”
गाउँपालिकाले सुरु गरेको यो कार्यक्रम केवल तालिममा मात्र सीमित नभएर दीर्घकालीन रूपमा स्थानीय सीप, संस्कृति र आत्मनिर्भर बनाउँदै अर्थतन्त्रसँग जोड्ने उद्देश्य रहेको अध्यक्ष बस्नेतको भनाइ छ । नयाँ पुस्तामा हस्तकला, परम्पराप्रति चासो र आकर्षण बढाउने, कला, संस्कृतिको संरक्षणसँगै पर्यटन प्रवर्छनमा पनि यसले टेवा पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाले जनताको जीवनस्तर सुधार्दै सीप, कला संरक्षण र प्रवर्द्धनका लागि प्रयास थालिएको गाउँपालिकाका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँघरमा कतिपय परम्परागत रूपमा गरिने सीप हराउँदै गएकोले प्रशिक्षण कार्यक्रममार्फत पुनर्जीवित गर्ने प्रयास गरिएको उहाँले उल्लेख गर्नुभयो ।
पितापूर्खाले बनाउँदै आएका हस्तकलाको सामग्री संरक्षणमा यस्ता कार्यक्रमले टेवा पुग्ने उपाध्यक्ष राईले जानकारी दिनुभयो । “आजका बालबालिका र युवाले परम्परागत हस्तकलाबारे कमै मात्र जानकारी पाएका छन्”, उहाँले भन्नुभयो, “उनीहरूलाई व्यवाहारिक सीप सिकाएर संस्कृतिको जगमा उभ्याउन खोजेका छौँ । यसले परम्परागत सीप र संस्कृतिको सरक्षणमा टेवा पुग्ने अपेक्षा लिएका छौँ ।”
अभियानलाई अझ मजबुत बनाउन गाउँपालिकाले चोमोलुङमा युनेस्को सेन्टर, काठमाडौँसँगको समन्वयमा सीप प्रदान गरेको छ । यहाँका ६५ जना महिला र पुरुष सहभागीलाई विभिन्न खालका परम्परागत हस्तकलाको सीप प्रदान गरिएको हो । सहभागीले सिकेका सीपलाई गाउँमै प्रयोग गरेर उत्पादन बढाउने र बजारमा लैजाने बताइएको छ ।
परम्परागत हस्तकलाले यहाँका बासिन्दाको जीवनशैली र पहिचान र संस्कृतिसँग पनि गहिरोसम्बन्ध राख्ने देखिएको छ । उचित प्रविधि, डिजाइन र बजार व्यवस्थापन भएमा यी उत्पादनले गाउँमा स्वरोजगार सिर्जना गर्नमा सहयोग पुर्याउने स्थानीय जानकारहरूले बताउने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्