आन्दोलनका कारण विस्थापित मधेशका सबै प्रहरी युनिट स्थापित
जनकपुरधाम । जेन्जी पुस्ताको आन्दोलनका कारणले क्षतिग्रस्त प्रहरीको संरचनाहरूको मर्मत तथा जीर्णोद्धार गरेर मधेश प्रदेशका सबै प्रहरी कार्यालयहरू पुनः स्थापित गरिएको छ ।

मधेश प्रदेशमा रहेका नेपाल प्रहरीका १३ वटा प्रहरीका युनिटहरू पूर्ण रुपमा क्षतिग्रस्त हुनुका साथै ७७ वटा आंशिक रुपमा क्षतिग्रस्त भएकोमा सबैको मर्मत तथा सामान्य सुधार गरेर प्रहरीहरूलाई पुनः स्थापित गरिएको मधेश प्रदेशका प्रमुख, प्रहरी नायव महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।
मधेश प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी युनिटमा ७ करोड ३१ लाख २२ हजार ४ सय बराबरको क्षति भएको जानकारी प्रदेश प्रहरी कार्यालयले गराएको छ । जिल्लागत रुपमा धनुषामा २३ प्रहरी युनिटमा क्षति भएको थियो ।
आन्दोलनको क्रममा ८४ प्रहरी र १२ जना सर्वसाधारण घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । आन्दोलनको क्रममा १ जनाको मृत्यु भएको थियो । जेन्जी पुस्ताको आन्दोलनको क्रममा २ सय ७ वटा सरकारी कार्यालयहरूमा क्षति पुगेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यसै बीच सबै प्रहरी कार्यालयहरू स्थापित गरेर हिन्दुहरूको महान् पर्व विजया दशमी, दीपावली तथा छठ पर्वलाई ध्यानमा राखेर विशेष सुरक्षा योजना लागु गर्नुका साथै त्यसका लागि नेपाल प्रहरीले मात्र ६ हजार ५ सयको सङ्ख्यामा प्रहरी परिचालन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्