भारतबाट फर्किने युवामा परिवर्तनको आशा
बाँके। रोजगारीका लागि सानै उमेरमा भारत गएका दैलेखका १५ वर्षीय दिपेन्द्र सार्की, १७ वर्षीय दशरथ बोगटी र १८ वर्षीय गणेश सुनार हाल स्वदेश फर्किएका छन् । जमुनाहा नाकामा भेटिएका उनीहरूको अनुहारमा देशमै रोजगारीको सम्भावना र परिवर्तनको आशा देखिन्थ्यो ।
दिपेन्द्रले भने, “अहिले हाम्रो उमेरकै साथीहरूले आन्दोलन गरेका छन्, पुराना नेताहरूको सरकार ढलेको छ, अब केही नयाँ हुने आशा छ।” दशरथले भने, “हामीले फेसबुकमार्फत आन्दोलन भएको थाहा पायौँ, भ्रष्ट नेताहरूलाई जे भयो, ठिकै भयो।”
यी युवाले आसन्न निर्वाचनमा युवाले नेतृत्व लिनुपर्ने धारणा राखे । उनीहरूका अनुसार, पुराना पार्टीले अब काम नगर्ने भएकाले नयाँ पुस्ता अघि आउनुपर्छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै युवाहरू रोजगारीका लागि भारत जाने गरेका छन् । उनीहरू होटल–रेस्टुरेन्ट, खेतबारी, चौकीदारी र भारी काममा संलग्न हुने गरेका छन् । तर स्वदेश फर्किएका दाङका गोपाल बुढाथोकीले भने, “देशमै रोजगारी भए कसैलाई भारत जान मन हुँदैन । जेनजी आन्दोलनपछि भ्रष्टाचार अन्त्य हुने र देशमै रोजगारी सिर्जना हुने विश्वास बढेको छ।”
सल्यानका ३० वर्षीय राजेश विकले स्वदेशमै नियमित कमाइ हुने रोजगारी भए भारत जानु नपर्ने बताए । रोल्पाका निधि थापाले भने, “अब परिवर्तन हुन्छ भन्ने विश्वास छ, जसले काम गर्न सक्छ उसैलाई भोट दिनुपर्छ,” भने ।
यसैबीच, दशैं नजिकिएसँगै जमुनाहा नाकामा दैनिक करिब १५ हजार नेपाली स्वदेश फर्किने गरेको प्रहरीले जनाएको छ । नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले हेल्प डेस्क सञ्चालन गरी आगन्तुकहरूको सुरक्षा र ठगीबाट बचाउने व्यवस्था मिलाएको छ ।
प्रतिक्रिया राख्नुहोस्