मुलुकको समृद्धिका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य : मन्त्री खनाल

विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले मुलुकको समृद्धिका लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ
विराटनगर भन्सार कार्यालयमा आजदेखि सुरु भएको भन्सार मूल्याङ्कन डाटाबेस प्रणालीको शुभारम्भ गर्नुहुँदै मन्त्री खनालले मुलुकको विकासका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
निजी क्षेत्र र सरकार मिलेर परस्पर एक अर्काको दुःख र समस्या बुझ्दै अघि बढ्न निजी क्षेत्रलाई उहाँले आग्रह गर्नुभयो ।
मन्त्री खनालले आर्थिक गतिविधि बढाउन करमा वृद्धि गर्नेभन्दा पनि उपयुक्त वातावरण बनाउँदै व्यवसाय सञ्चालनको दायरा बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
व्यवसाय सञ्चालनको लागत कम गर्ने र निर्विवाद रूपले व्यवसाय सञ्चालन गर्न पाउने वातावरण बनाउनेतर्फ सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।
मन्त्री खनालले भन्सार प्रणालीलाई व्यवस्थित र सहज बनाउन सरकारले पहिलो पटक विराटनगर भन्सारबाट यो प्रणाली सञ्चालनमा ल्याएको र यसलाई देशभरका भन्सार कार्यालयहरूमा पनि क्रमशः सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
उहाँले विराटनगर समग्र मुलुकको आर्थिक गतिविधिको जग समेत भएकाले यो प्रणालीलाई सफल एवं प्रभावकारी बनाउन यहाँको उद्योगी व्यवसायीहरूले इमानदारीपूर्वक सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्