युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ सार्वजनिक

काठमाडौँ । युवा लेखक क्षितिज समर्पणको पहिलो उपन्यास ‘तोरकीन’ सार्वजनिक भएको छ ।
माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु–संस्कार, रहनसहन, बसाइसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथालाई खोज–अनुसन्धान गरी मिथकीय शैलीमा उपन्यासमा प्रस्तुत गरिएको छ ।
उपन्यासका लेखक समर्पणका अनुसार उपन्यासमा रित्तिँदै गएका बस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा समेटिएको छ ।
उहाँले कृतिमा छेवाङ र कुन्साङ मुख्य पात्रमार्फत तीन पुस्ताको कथाभित्र मानव जीवनमा आउने आरोह–अवरोह तथा सपना र सम्बन्धहरूको यथार्थपरक चित्रण गरिएको जानकारी दिनुभयो।

स्थानीय ल्होवा भाषामा ‘तोरकीन’को अर्थ हराउँदै जानु, लोप हुनु हो । सरल र काव्यात्मक भाषा–शैली तथा पात्रहरूको कथ्यशैलीको स्थानीय लवजले उपन्यासलाई अझै रूचिकर र पठनीय बनाएको समीक्षकहरूको भनाई छ।
स्थानीय परिवेशलाई समेटेर सामाजिक कथावस्तु समेटिएको पुस्तक बुकहिलले बजारमा ल्याएको हो । यस उपन्यासमार्फत नेपाली साहित्यमा एक उम्दा नयाँ लेखकको उदय भएको प्रकाशक बुकहिलले जनाएको छ ।
जाजरकोट निवासी क्षितिज समर्पण गीत, गजल र आख्यान लेखनमा सक्रिय हुनुहुन्छ ।
३३६ पृष्ठको पुस्तकको बजार मूल्य ६६६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्