नवलपरासीका किसानद्वारा भारतीय केरा आयात रोक्न माग

नवलपरासी, पश्चिम । नवलपरासी पश्चिमका केरा किसानहरूले भारतीय केरा आयात तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
नवलपरासी केरा उत्पादक सङ्घका अध्यक्ष लक्खु प्रसाद यादवले विज्ञप्ति जारी गर्दै स्थानीय उत्पादनले पर्याप्त आपूर्ति गर्न सक्ने अवस्था हुँदाहुँदै भारतबाट अत्यधिक मात्रामा केरा भित्रिँदा किसानहरू घाटामा परेको बताउनुभएको छ । उहाँले समस्या समाधान नभए आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभएको छ ।
सङ्घका अनुसार अहिले किसानहरू ३० रुपैयाँ लागत पर्ने केरा १० देखि १८ रुपैयाँमै बिक्री गर्न बाध्य छन्। असोज ६ गते कृषि ज्ञान केन्द्रमार्फत मन्त्रालयलाई समस्या जानकारी गराए पनि पहल नभएको भन्दै किसानहरूले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।
विज्ञप्तिमा भारतीय मोटरसाइकल र अन्य साधनमार्फत आउने केरा नियन्त्रणमा लिएर कारबाही गर्न माग गरिएको छ। साथै आन्दोलनमा आवश्यक परे किसान, राजनीतिक दल, पत्रकार महासङ्घ, नागरिक समाजलगायतलाई साथ दिन आह्वान गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्