गोरखकाली र मनकामना मन्दिर दसैँघरमा जमरा राखियो
गोरखा। धार्मिक एवं ऐतिहासिक गोरखा जिल्लामा अवस्थित प्रसिद्ध श्री भवानी गोरखकाली भगवती मन्दिरमा २०८२ सालको बडा दसैँको घटस्थापनाका दिन आज ९ बजेर १३ मिनेट जाँदाको शुभ साइतमा दशैँघरमा जमरा राखिएको छ।

आश्विन ६ गते अर्थात् आश्विन शुक्लपक्ष प्रतिपदा तिथि शुभ ब्रहम्हामुर्तमा श्री भवानीको कैलाश देखि गर्व गृह अर्थात् दसैँ घर पूजा कोठामा सवारी गराए पश्चात् पञ्चाङ्ग निर्णय विकास समितिको निर्णयअनुसार बिहान ९ बजेर १३ मिनेटको समयमा विधिवत् घटस्थापना अर्थात् जमरा राख्ने काम भएको मन्दिरका मूल पुजारी शारदा प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
परम्पराअनुसार बिहान सबेरै मिर्मिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभ साइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको भट्टराईले बताउनुभयो ।
मूल दरबारको कैलाश कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलाश कोठामा विधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णु पाठकले जानकारी दिनुभयो । गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दु धर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।
शक्ति स्वरूपा श्री गोरखकाली भगवतीको नित्य पूजा गर्दा सबैमा सुख शान्ति अमन चैन प्राप्त हुने भनाई रहँदै आएको छ ।
बडादसैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलिदिने प्रचलन छ । यसै गरी, गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा पनि जमरा राखिएको मन्दिरका मूल पुजारी इन्सान थापाले जानकारी दिनुभयो ।
मनकामना मन्दिरमा मकै र जौको छुट्टाछुट्टै जमरा राखिएको उहाँले बताउनुभयो । परम्परा अनुसार विगतदेखि नै छुट्टाछुट्टै जमरा राख्नुपर्ने भएका कारण नित्य पूजा गरी जमरा राखिएको मूल पुजारी थापाले बताउनुभयो । गणेश र कलश स्थापना गरेर दुवै ठाउँमा जमरा राखिएको थापाको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्