एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट गत वर्ष ८५ पीडितलाई निःशुल्क सेवा
बागलुङ । लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)बाट गत आर्थिक वर्ष २०८१/०८२ मा ८५ जना पीडितले निःशुल्क सेवा लिएका छन् ।

धौलागिरि प्रादेशिक अस्पताल अन्तर्गत सञ्चालनमा रहेको केन्द्रबाट एक वर्षमा ७३ जना महिला र १२ जना पुरुषले उपचार तथा परामर्श लिएका हुन् । केन्द्रकी फोकलपर्सन देवी भट्टराईले घरेलु हिंसा, यौन हिंसा र मानसिक समस्या भएकाहरूलाई केन्द्रमा राखेर उपचार गराउँदै आएको बताउनुभयो ।
उहाँले केन्द्रमा गत आर्थिक वर्षमा १९ जना बलात्कार, ३४ जना शारीरिक हिंसा, १५ जना मानसिक यातना, १० जना करणी उद्योग र सात जना घरेलु हिंसा पीडितहरूले सेवा लिएको बताउनुभयो । पछिल्लो आर्थिक वर्षमा २०८०÷०८१ मा १ सय ६ जना हिंसा पीडित महिलाको अस्पतालमा उपचार भएको थियो ।
जसमध्ये ११ जना बलात्कार, ५५ जना मानसिक यातना, ३२ जना घरेलु हिंसा, १८ जना शारीरिक हिंसा र ६ जना करणीका पीडितहरूले सेवा लिएका थिए । बागलुङमा १९ वर्षदेखि ५९ वर्षसम्मका महिला र पुरुषहरू बढी मात्रमा पीडितहरू रहेको पाइएको छ ।
केन्द्रमा आउने पीडितलाई मनोसामाजिक विमर्श मार्फत शारीरिक र मानसिक उपचार गरिन्छ । एक सातासम्म राखेर गरिने उपचारपछि परिवारका सदस्यलाई समेत सामाजिक विमर्श गराएपछि पुनःस्थापना गर्ने गरिएको भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्