दोस्रो पर्वतीय दौड प्रतियोगिताका लागि सय जना खेलाडीको नाम दर्ता
पोखरा । विश्व पर्यटन दिवसको दिन (असोज ११ गते) अर्थात् (सेप्टेम्बर २७ तारिख) पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा सहभागी हुन ६ प्रदेशका १ सय जना खेलाडीहरू सहभागी हुने गरी नाम दर्ता गराउनुभएको छ । विश्व शान्ति दिवसको समेत सन्दर्भमा आयोजना हुने उक्त ८ किलोमिटर पर्वतीय दौडमा मधेश प्रदेश बाहेक अन्य ६ प्रदेशबाट खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउने गरी दर्ता गराएको आयोजकले जनाएको छ ।

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्द्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशसहित, कोशी, बागमती, लुम्बिनी, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका खेलाडीहरूले सहभागी हुने भएको केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी हुने धावकहरूले अझै केही दिन भित्रमा आफ्नो नाम दर्ता गराउन सक्ने उहाँले जनाउनुभयो । प्रतियोगितामा हालसम्म नेपाल सहित बेलायतका गरी दुई देशका खेलाडीहरूले समेत आफ्नो नाम दर्ता गराएका छन् । यस पाली न्यूनतम दुई सयदेखि २५० जना खेलाडीहरू सहभागी गराउने लक्ष्य राखिएको छ । फस्ट कम फस्ट सर्भिसका आधारमा दुई सय ५० जना खेलाडीहरूको नाम दर्ता पुग्नसाथ पोखरा क्लिकको अनलाइन फारम बन्द गरिने उपाध्यक्ष गौतमले जनाउनुभयो ।
जेन–जीको आन्दोलनसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण असोज ४ गते हुने भनिएको उक्त प्रतियोगिता एक हप्ता सरेर असोज ११ गते हुने तयारी गरिएको हो । पोखरा–२२ स्थित विश्व शान्ति स्तूपदेखि कालाबाङ घडेरी बुद्ध पार्कसम्मको ८ किमी दूरीमा विभिन्न ६ इभेन्टमा प्रतियोगिता हुने भएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताउनुभयो ।
प्रतियोगितामा खुलातर्फ प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी लेफ्टिनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् । यस्तै, नेलम्बो नेपालले तेस्रो पुरस्कार प्रायोजन गरेको छ । सहारा क्लब पोखरा, सिटिजन्स फर्निचर, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले १६ वर्षमुनिको विधामा, पर्यटक दौडको प्रोत्साहन पुरस्कार, महिलातर्फको खुला विधामा प्रदान गरिने जनही १५ हजार सहयोग गर्ने भएका छन् । प्रतियोगितामा करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको पोखरा क्लिकका व्यवस्थापक सागर सुनारले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्