तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री कार्की: संविधानको रक्षा र सुशासनका लागि सबै एकताबद्ध हुनुपर्छ

विराटनगर। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले  संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एक ढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशको प्राङ्गणमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो सङ्घर्ष र बलिदानको परिणामस्वरूप  जन निर्वाचित संविधानसभाबाट जारी संविधान नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधार स्तम्भ भएकाले यसको रक्षा गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । 

 मुख्यमन्त्री कार्कीले  भदौ २३ गते भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको माग गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएका युवाप्रति  हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै कोसी प्रदेश सरकार  संविधानको पालना, कानुनको शासन, सुशासन र पारदर्शिता कायम गरी भ्रष्टाचार निवारण लागिपरेको चर्चा गर्नुभयो ।

 उहाँले सामाजिक–आर्थिक विकासलाई तीव्रता दिँदै समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नु अहिलेको अभिभारा भएको बताउनुभयो । 

संविधान कार्यान्वयनका क्रममा देखिएका समस्याहरूलाई विधिपूर्वक संविधान संशोधनमार्फत समाधान गर्दै राजनीतिक स्थिरता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

मुख्यमन्त्री कार्कीले युवाहरूको ऊर्जा, सृजनशीलता र सीपलाई सदुपयोग गर्दै समृद्ध नेपालको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कोसी प्रदेश सरकार प्रतिबद्ध रहेको  उल्लेख गर्नुभयो । 

संविधान दिवसले सबैलाई आवेग र उत्तेजनाभन्दा माथि उठेर राष्ट्रको सर्वोपरि हितलाई केन्द्रमा राखी विवेकसम्मत ढङ्गले अघि बढ्न प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभयो । कोसी प्रदेश सरकारले आज विविध कार्यक्रम गरी संविधान दिवस मनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button