‘नव युवापुस्ताको भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो बनोस्’
कास्की । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत्त प्राप्त गरेकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।
नव युवा नेतृत्वको आन्दोलनपश्चात् शान्तिपूर्ण निकासका साथ मुलुक अघि बढिरहेको जनाउँदै उनले संविधान, संसदीय प्रणाली र सङ्घीय लोकतन्त्र गणतन्त्र कायम राख्न सफल भएको जनाउनुभएको छ ।
‘फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुपर्नेछ । निर्वाचन नै मुलुकको निकास भएकाले आजको संवेदनशील घडीमा उपयुक्त वातावरण बनाउन सबै सम्बद्ध पक्षहरूलाई विशेष आव्हान गर्दछु,’ सन्देशमा उहाँले भन्नु भएको छ । नव युवापुस्ताको आन्दोलनको मर्म र भावनालाई सम्बोधन गरी संविधानको स्वीकार्यता अझ फराकिलो पार्दै यसको पूर्ण कार्यान्वयनले मुलुकले गति लिने विश्वास पनि उहाँको छ ।
सन्देशमा भनिएको छ, ‘अबका कदमहरू संविधानको कार्यान्वयन तथा सङ्घीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा हुनेछ । संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन र नेपाललाई स्थायी शान्ति र समृद्धिको दिशातर्फ उन्मुख गराउन आ–आफ्नो ठाउँबाट योगदान गर्न सबै राजनीतिक दल तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा म हार्दिक आह्वान गर्दछु ।’ यस कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट पनि यथोचित सहयोग रहने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख भट्टले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेकोमा जोड दिनु भएको छ । देशमा शान्ति, जनताको हित र उन्नति भन्दा ठुलो हाम्रो कुनै लक्ष्य हुन सक्दैन । यही भावनाबाट उत्प्रेरित भई संविधानको पालना र कार्यान्वयन गर्न राज्यका सबै अङ्गहरूले निष्पक्ष र न्यायपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दछु,’ भट्टले भन्नु भएको छ ।
वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको उहाँको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्