जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्रीसँग सोध्यो स्पष्टीकरण

जनकपुरधाम । जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग स्पष्टीकरण माग गरेको छ । जनमत पार्टीले निर्देशन दिएपछि जेनजी आन्दोलनको दोस्रो दिन मुख्यमन्त्री सिंहले फेसबुकमा राजीनामा दिएको घोषणा गरेपनि पछि पनि राजीनामा दिन आनाकानी गरेपछि पार्टीले साधारण सदस्य समेत नरहने गरी किन कारबाही नगर्ने भनेर स्पष्टीकरण सोधेको हो ।
पार्टीका केन्द्रीय अनुशासन समितिका संयोजक एवं पार्टीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र प्रसाद चौधरीले ३ दिन भित्र स्पष्टीकरण दिन स्पष्टीकरण पत्र मुख्यमन्त्रीलाई पठाउनु भएको छ ।
उहाँले संसदीय दलले प्रदेश सरकारमाथि विश्वास नरहेको भनी प्रदेश सरकारबाट बाहिरिने र मुख्यमन्त्री सहित आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको र मुख्यमन्त्री स्वयं फेसबुकमा राजीनामा दिइसकेकाले अहिले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको, पार्टीको छविलाई आँच पुर्याउने काम गरेको, अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हित विपरीत काम गरिरहेको भन्दै पार्टीको साधारण सदस्य नरहने गरी किन कारबाही नगर्ने भनेर उल्लेख रहेको छ ।
जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवले संसदीय दलले आफ्नो मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाउँदै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालय तथा प्रदेशसभा सचिवालयमा बुझाइसक्दा समेत मुख्यमन्त्रीले राजीनामा नदिएपछि कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।
यादवले संसदीय दलले मुख्यमन्त्री सिंहलाई २४ घण्टे स्पष्टीकरण बुधवार नै दिएपनि मुख्यमन्त्रीले स्पष्टीकरण नदिएको जानकारी दिनु भयो । संसदीय दलले मागेको स्पष्टीकरण नदिएपछि बुधबार पार्टीको केन्द्रीय सचिवालयमा अनुशासनको कारबाहीको माग गर्दै सिफारिस गरेको थियो ।
यसै बीच मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूलाई विभिन्न दलहरूले राजीनामा नदिनका लागि आग्रह गर्दै आएको र देशको अहिलेको राजनीतिक अवस्था पनि ठिक नभएकाले आफूले राजीनामा नदिईकन प्रदेश सभामा नै फेस गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्