तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा सात वर्षमा ३३९ मिनि टिलर वितरण

जुम्ला । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम तथा तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गर्दै आएको छ । बितेको सात वर्षको तथ्याङ्कलाई हेर्दा ३ सय ३९ वटा मिनि टिलर वितरण गरिएको कार्यालय प्रमुख सन्तोष कुमार चौधरीले बताउनुभयो ।

व्यवसायीक किसान, उद्यमी, किसान समूहलाई मागका आधारमा ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गर्ने गरिएको छ । जसमा आर्थिक वर्ष २०७४/०७५ मा २२ वटा मिनि टिलर वितरण गरिएको थियो । 

आ.व.२०७५/०७६ मा ४८ वटा, आव २०७६/०७७ मा ४६ वटा, आ.व २०७७/०७८ मा ४२ वटा मिनि टिलर अनुदानमा वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

भने आर्थिक वर्ष २०७८/०७९ मा भने कार्यालयबाट अनुदानमा मिनि टिलर वितरण गरिएको छैन । आ.व. २०७९/०८० मा ५८ वटा, आ.व २०८०/०८१ मा ६० वटा र गत आर्थिक वर्ष २०८१/०८२ मा ६३ वटा गरी सात वर्षमा कूल ३ सय ३९ वटा मिनि टिलर वितरण गरिएको हो ।  ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरेपछि किसानलाई राहत भएको छ । 

मिनि टिलर वितरणपछि महिलाको कार्यबोझ न्युनिकरण समेत भएको छ । खेतीपातीमा प्रायः खटिने महिलाहरू परम्परागत खेतीबाट कष्ट भोग्दै आएका थिए । कृषिमा यान्त्रीकरण बढेपछि राहत भएको तातोपानी गाउँपालिका वडा नं. २ का किसान दत्त बुढाले बताउनुभयो । विगतमा हल गोरुबाट खेती गर्दा दुःख भएपनि खेती गरिरहेका थियौ । उहाँले भन्नुभयो,‘अहिले हाते ट्याक्टर (मिनि टिलर) बाट खेतीपाती गर्दा सहज । हलो जोत्न भन्दा मिनि टिलर प्रयोगमा सहज रहेछ ।’

मर्मतमा समस्या

जिल्लाका आठै पालिकाका किसानलाई ३३९ वटा मिनि टिलर वितरण गरेपनि मर्मतको समस्याले अधिकांश मिनि टिलर प्रयोग विहीन भएका छन् । समूह गत रुपमा अनुदानमा वितरण गरेपनि मिनि टिलरमा समस्या आउँदा कसरी मर्मत गर्ने भन्ने तालिम नदिएका कारण मर्मतमा समस्या देखिएको हो । 

तातोपानी गाउँपालिका वडा नं. ५ का टक्क नेपाली केही मात्रामा बिग्रिएका मिनि टिलर मर्मत गरेपनि अधिकांश गाउँका मिनि टिलर भने मर्मत हुन नसकेर थन्किएका छन् । अनुदानमा पाएपनि मर्मत गर्ने भन्ने बारे तालिम नपाएका कारण समस्या भएको किसानले बताएका छन् । 

किसान शुर बुढाले मर्मत कसरी गर्ने भन्ने बारे थाहा नपाउँदा दुई वर्षदेखी मिनि टिलर थन्कीएको बताउनुभयो । धेरै पटक मर्मत गर्ने तालिम दिन अनुरोध गरेपनि नपाएको उहाँको गुनासो छ । 

किसानलाई मिनि टिलर प्रदान गर्नुभन्दा पहिला समूहका केहीलाई प्रयोग विधि तथा समस्या आएमा कसरी मर्मत गर्ने भन्ने बारे तालिम दिन आवश्यक देखिएको छ । अन्यथा १/२ वर्षै चल्ने र पछि थन्किने समस्या दोहोरिने देखिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button