आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न ७ दिने अल्टिमेटम
नवलपरासी पश्चिम् । जेनजी आन्दोलनको मौका छोपेर पश्चिम् नवलपरासीका सरकारी कार्यालय र निजी सम्पत्ति तोडफोडमा संलग्नलाई कारबाही गर्न नवलपरासीका जनप्रतिनिधिहरूले ७ दिने अल्टिमेटम दिएका छन् ।

पूर्व मन्त्री हृदयेश त्रिपाठी, लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवार र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी आगजनी र तोडफोडमा संलग्नलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई उजुरी दिएको जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण कलवारले आफ्नो घर जलाउनु पूर्व घरभित्र छिरेर लुटपाट गरिएको तत पश्चात् आगजनी गरेको बताउनुभयो।
पूर्व मन्त्री ह्र्दयेश त्रिपाठीले घटनामा राजनीतिक कार्यकर्ताहरू भएको भए राजनीतिक रूपमै निकास गर्नुपर्ने थियो तर घटनामा संलग्नहरू विशुद्ध अपराधीक क्रियाकलापमा संलग्न भएकाले प्रशासनले चाँडो निष्कर्ष निकालेर कारबाहीको दायरामा ल्याइनुपर्ने बताउनुभयो ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले आगजनी र तोडफोडमा संलग्नहरू तस्करी र अपराधीक क्रियाकलापमा संलग्न रहेका व्यक्तिहरू भएको बताउनुभयो ।प्रशासनले एक हप्ताभित्र कानुनी कारबाही नगरे आफूहरूले फरक कदम चाल्ने समेत चेतावनी दिनुभयो ।
पश्चिम् नवलपरासीमा भएका सरकारी कार्यालय र निजी सम्पत्तिमा आगजनी र तोडफोडमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन जनप्रतिनिधि र राजनीतिक दलहरू छलफलमा जुटेका छन् ।
प्रतिक्रिया राख्नुहोस्